काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करी आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने आदेश दिएको हो । रुक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिइएको छ ।
अदालतले भोजपुर अरुण गाउँपालिका–४ का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेन्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस्तै, बेल्जियम नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । कृष्णकुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्ट राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम पुर्पक्षका लागि थुनामा गएका छन् ।
अदालतले दोलखा मेलुङ गाउँपालिका–३ का रामकुमार भुजेल, सोही ठाउँका दिलीप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाका सहयोगी भनिएका किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नासु वीरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचका कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नासु सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसअघि २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेकोमा ३ जना अझै फरार छन्।