पोखरा । पोखरामा सञ्चालित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १ अर्ब ११ करोड १९ लाख रुपैयाँ हिनामिना पारेको खुलेको छ ।
कास्की प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार पदाधिकारी तथा पूर्व सञ्चालकले बचतकर्ताको १ अरब ११ करोड १९ लाख रुपैयाँ हिनामिना पारेको अध्ययनमा खुलेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले अब अध्ययनपछि छिट्टै जिल्ला अदालतमा अभियोग दायर गर्ने तयारी गरेको छ । ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकका अनुसार सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेको २४ औं दिनमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको हो ।
सो प्रकरणमा १ हजार ३६ जना बचतकर्ताले जाहेरी दिएका थिए । ठगी प्रकरणमा आवश्यक छानबिन गर्न गठन गरिएको विज्ञको प्रतिवेदन अनुसार भने ठगिएको रकम १ अरब ३५ करोड ५३ लाख ५४ हजार थियो।
सहकारीका सानाठुला १८ हजार ७ सय जना बचतकर्ता रहेकोमा १ हजार ३६ जनालेमात्र उजुरी दिएको र सोही आधारमा ठगी भएको रकमको निकालिएको कास्की प्रहरी प्रवक्ता डिएसपी विकले बताए । सहकारीले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको पाइएको छ । कुन सञ्चालकले कति पैसा अपचलन गरे भन्ने प्रस्ट नखुलेकाले समान दायित्व पर्ने गरी बचतकर्ताको उजुरी आधारमा १ अरब ११ करोड १९ लाख रुपैयाँ बिगो दाबी गरिएको उनले बताए । सहकारी ऐनअनुसार सहकारी ठगी मुद्दामा १ अरबभन्दा माथि जतिसुकै बिगो भए ८ वर्षभन्दा बढी कैद सजाय हुने व्यवस्थाअनुरुप प्रतिवादी १९ जनाविरुद्ध प्रहरीले ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।
संस्थाको रकम हिनामिना गरेको अभियोगमा सहकारीका तत्कालीन अध्यक्ष गितेन्द्र (जिबी) बाबु राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), सञ्चालक भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङलाई प्रतिवादी बनाइएको छ ।
हालसम्म कोषाध्यक्ष रम्तेलमात्र पक्राउ परेका हुन् । १९ जनामध्ये १८ प्रतिवादीहरु भने अझै फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।