काठमाडौं । गोर्खा सैनिकहरुको जीवनकथामा आधारित चलचित्र 'सोल अफ द कमान्डो'का कलाकारहरु नेपालमा आइपुगेका छन् । चलचित्रका मुख्य कलाकार एवं पूर्वगोर्खा सैनिक ग्रयान्ड मास्टर राजकुमार राईसहितका कलाकार नेपालमा चलचित्र प्रदर्शनका लागि यहाँ आएका हुन् ।
‘सोल अफ द कमान्डो’चलचित्र नेपालमा आउँदो मंसिर १६ गते (डिसेम्बर २ तारिख) बाट प्रदर्शन सुरु हुने अभिनेता राईले जनाए । ‘सोल अफ द कमान्डो’चलचित्र यसअघि बेलायतको अल्डरसटमा र क्यानाडामा भव्य प्रदर्शन भइसकेको छ ।
चलचित्र प्रदर्शनको सिलसिलामा प्रमोशनका लागि नायक राई, नायिका कमला खापुङ लिम्बुसहितका टिमले बिहीबार नेपाल चलचित्र संघका अध्यक्ष नवल खड्कालाई भेटेको थियो । टोलीले नवनिर्वाचित संघका अध्यक्ष खड्कालाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएको थियो ।
चलचित्रका साथै सामाजिक काममा सक्रिय हुँदै आएका ग्रयान्ड मास्टर राईले गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा. शेष घलेको नेतृत्वमा अक्टोबर १० र ११ तारिखमा आयोजित ग्रीन हाइड्रोजन समिटमा क्यानाडाको तर्फबाट सहभागिता जनाएका थिए ।
‘सोल अफ द कमान्डो’चलचित्रमा शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बु र उनकी छोरीको पनि मुख्य अभिनय छ ।
चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई र निर्माता मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् । निर्माता प्रस्तुतिकर्ता विजया राई, रवि थापा, धन लिम्बु, मिलन राई रहेका छन् भने फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो ।
छायांकन दिर्घ गुरुङ, द्वन्द्व एनबी महर्जन, गायक राजेश पायल राई, गायिका बबिना किराती, संगीत सन्तोष दुमी, आनन्द राई छन् । पोस्ट प्रोडक्सन विमल धमला र सीमा राई छन् । ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट सकंलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जनाएका छन् ।