पोखरा । एमाले गण्डकी अधिवेशन उद्घाटन गर्न सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिएपछि कार्यकर्ताहरु ठुलो संख्यामा उतारिएको थियो ।
पोखराको अमरसिंहमा बिहान साढे ११ बजे सुरु हुने भनिएको अधिवेशनमा दिउँसो ४ बज्दासम्म ओलीलाई उनीहरु पर्खिरहे ।
तर अन्तिममा मात्र गण्डकी सचिव धनञ्जय दवाडीले माइकबाट फुके, ‘मौषम खराबीले ओली कमरेड आउन सक्नु भएन ।’ यति भन्दै उनले महासचिव शंकर पोखरेललाई उद्घाटनका लागि बेलुन थमाए । ओली नआउँदा अधिकांश कार्यकर्ता निराश हुँदै घर फर्केका छन् ।
दुई दिनसम्म चल्ने अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ९ सय ८ जना प्रतिनिधिले भाग लिएका छन् ।
अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले एमालेलाई सरकारबाट हटाएर गठबन्धन सरकारले संगठनात्मक अराजकता निम्त्याएको बताए । उनले समृद्ध नेपाल, सुखी नेपालीको लागि एमाले नेतृत्वको सरकारको विकल्प नभएको दाबी गरे । उनले भने, ‘राजनीतिक दलहरु कहिले पनि पुराना हुँदैनन् । नीति र नेतृत्वमा समयक्रमसँगै अद्यावधिक हुँदै जान्छन् । यसको विकल्प रोज्नुभयो भने अराजकता निम्त्याउनु हो,’ उनले भने ।
अहिलेको सरकार कालोबजार मूल्यवृद्धि गर्ने तथा दसैंतिहारको मुखमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्न उद्दत रहेको महासचिव पोखरेलको आरोप थियो । विगतमा ओली नेतृत्वको सरकारको पालामा विकास र समृद्धिका लहर सुरु भएको दाबी गर्दै अहिलेको सरकारले भने चरम आर्थिक मन्दीमा देशलाई फँसाएको बताए ।
प्रचण्डको चीन भ्रमण राजकीय भनिए पनि गेरु वस्त्र धारण गरी मन्दिरमा पूजाआजामा व्यस्त हुनु लज्जाको विषय हो भने । बाढी नियन्त्रण र सीमा सुरक्षामा प्रचण्ड छिमेकी मुलुकसँग झुकेको टिप्पणी समेत उनले गरे ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भिजन, नीति र योजनाबिनाको पार्टीले मुलुक हाँक्न नसक्ने टिप्पणी गरे । नेता गुरुङले लोकप्रियतामा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप पनि लगाए ।
उद्घाटन समारोहमा पार्टी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, अर्का सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी लगायतले पनि देशको विकास र समृद्धिको लागि एमाले एकमात्र विकल्पको पार्टी भएको बताए ।
एमाले गण्डकी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र सञ्चालन सचिव धनञ्जय दवाडीले गरेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु कोडा, नौमती, झोरा, लाखे नेत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा एमाले नेता तथा जिल्ला विकास समितिका पूर्व सभापति पुण्यप्रसाद पौडेलद्वारा लिखित ‘समाज समीक्षा’ नामक पुस्तक विमोचन गरिएको थियो ।
अधिवेशन सुरु हुनुअघि पोखराका विभिन्न भागबाट ¥याली निस्केको थियो । उद्घाटन अमरसिंह चौरमा भए पनि पोखरा सभागृह हलमा बन्दसत्र हुनेछ ।
अधिवेशनमा सबैभन्दा धेरै १ सय ४६ जना प्रतिनिधि कास्कीबाट छानिएका छन् ।