पोखरा । पत्रकार बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ पाेखरामा शुक्रबार मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार आयोजना गरेको समारोहमा वर्ष २०७९ का लागि ‘बिनु’ र वर्ष २०८० का लागि ‘तारा’ लाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । सम्मानित पत्रकार ‘बिनु’ पोखरा टेलिभिजन र ‘तारा’ पोखरा सिटी डटकममा आबद्ध छन् । उनीहरुले पुरस्कारबाट पत्रकारितामा थप क्रियाशील हुन प्रेरणा मिलेको प्रतिक्रिया दिए।
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले पत्रकारद्वयलाई जनही २० हजार १११ नगदसहित सम्मानपत्र हस्तान्तरण गरिन् ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले महिला र समावेशीकरणको मुद्दामा कलम चलाएवापत पुरस्कृत गरिएको बताइन् ।
गण्डकी प्रदेश सभाका पूर्व सदस्य तथा वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङले सो पुरस्कार स्थापना गरेकी हुन् । उनकाे जन्मदिनमा साे पुरस्कार दिइएकाे हाे।
यो पुरस्कारबाट यसअघि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन् ।