पोखरा । दसैं नजिकिँदै जाँदा नेपालमा परदेशी–२ फिल्म प्रदर्शनको डेट पनि नजिकिँदो छ । वरिष्ठ लोकगायक तथा फिल्म निर्माता एवं निर्देशक नारायण रायमाझी निर्देशित यो फिल्म आगामी असोज २६ मा अलनेपाल रिलिज हुँदैछ ।
फिल्मबाट सम्पूर्ण फिल्म युनिट निकै आशावादी छ ।
फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको टोली बिहीबार पोखरा आइपुग्यो । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशन रायमाझीले यो फिल्म विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा हो भने । उनले फिल्ममा सामाजिक कथा भएकाले सबैले हेर्नुपर्ने बनेको दाबी गरे ।
‘विदेशिनु नेपालीका लागि बाध्यता बनेको छ । खासगरी उच्च शिक्षाका लागि परदेशिने नेपालीको विदेश भोगाईलाई फिल्म मार्फत दुरुस्तै उतारिएको छ,’ उनले भने । परदेशिएको कथामा आधारित अघिल्ला फिल्म गोर्खा पल्टन र परदेशीलाई दर्शकले अत्यधिक रुचाएकोले यसपालि पनि आफू आशावादी बनेको बताए ।
नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेकोले आफू जोडिएको बताए । गीत संगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर आबद्ध भएको उनको भनाइ थियो ।
अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको जनाइन् । प्रदर्शनका हिसाबले परदेशी २ आफ्नो ३३ औं सिनेमा भएको जानकारी उनले गराइन् । प्रकाश सपुतलाई फिल्म क्षेत्रमा स्वागत गर्दै केकीले प्रकाशको अभिनय कौशलतालाई हेर्दा नयाँ जस्तै नलागेको सुनाइन् ।
फिल्ममा प्रकाश र केकीको अलवा वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सविन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त लगानीमा निर्मित फिल्ममा मानकृष्ण महर्जनको छायांकन, बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ ।
अष्ट महर्जनको द्वन्द्व, श्याम श्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन रहेको छ । फिल्म शुक्रबार बागलुङस्थित फिल्म हलमा प्रिमियर शो हुने फिल्म युनिटले जनायो ।