पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा बिरामीको मृत्युपछि आफन्तले चिकित्सक कुटेको विषयले यतिबेला देशभरका चिकित्सक आन्दोलित बनेका छन् । उनीहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलित भएका हुन् ।
नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार तीनबुँदे माग अघि सार्दै आकस्मिकबाहेक सबै सेवा बन्द आह्वान गरेको छ । संस्थाका कावा अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशील तिमल्सिनाले संयुक्त विज्ञप्ति जारी गर्दै मणिपालमा चिकित्सकमाथि हमलामा प्रहरी नै संलग्न भएकाले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, दोषीलाई गरिएको कारबाहीसम्बन्धी जानकारी सरकारको छापसहित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सञ्चारमाध्यमद्वारा सम्पूर्ण जानकारी गराउनुपर्ने माग गरेका हुन् । उनीहरुको आन्दोलनमा नेपाल चिकित्सक संघ पनि ऐक्यबद्धता जनाएको छ ।
एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड घटनामा विरोध जनाउँदै कुटपिट र अस्पताल तोडफोडमा उत्रने दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कारबाही गर्नुपर्ने माग गरेको छ । अफिन गण्डकी अध्यक्ष डा. गिरधारी शर्मा र सचिव ऋषि खतिवडाले संयुक्त विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।
यस्तै, मणिपालमा कार्यरत आवासीय चिकित्सक तथा इन्टर्नले पनि आफूहरुको ज्यानको असुरक्षा भएको भन्दै आन्दोलित छन् । उनीहरुले विज्ञप्ति जारी गरी आवासीय चिकित्सकमाथि भौतिक आक्रमणबाट चिकित्सक घाइते भएको बताउँदै दोषीलाई कडाभन्दा कडा कारबाही मागसहित सेवा बन्द गरेर आन्दोलित भएका हुन् ।
मणिपालको तरंग राजधानी काठमाडौंसहित देशका अन्य सहरमा पनि परेको छ । जसका कारण अति नै संवेदनशील मानिने स्वास्थ्य क्षेत्र र चिकित्सक आन्दोलित छन् ।
घटनाक्रम अनुसार लमजुङ सुन्दरबजार ६ की ५७ वर्षीय सुकमाया दुरालाई श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि उपचारार्थ आइतबार मणिपाल ल्याइएको थियो । तर उनको सोमबार दिउँसो उपचारक्रममा मृत्यु हुन गयो । उनको मृत्युको कारण आफन्तले माग गरिरहँदा चिकित्सकले ‘सेफ्टिक सक’ भएको बताउँछन् ।
तर बिरामीका आफन्त यो मान्न तयार छैनन् । उनीहरुले बिरामीको मृत्युमा चिकित्सकको लापरबाही भएको भन्दै कडा कारबाहीको माग गरेका छन् ।
प्रहरीले चिकित्सक डा. अनिल शाहलाई कुटपिट गरेको अभियोगमा पोखरा ५ मालेपाटन निवासी ३४ वर्षीय विनय गुरुङलाई पक्राउ गरेको छ । उनलाई ७ दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ । उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधसहित) कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
यस्तै, होहल्लामा संलग्न डा. दिनेशकुमार विकलाई नियन्त्रणमा लिई मंगलबार छाडिएको छ । फिस्टेल अस्पतालमा कार्यरत डा. विकलाई सोमबार बिहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा.मीनबहादुर गुरुङको रोहवरमा डा. गिरधारी शर्माको जिम्मा लगाइएको हो । घटनामा ४ जना प्रहरी समेत घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
समस्या समाधानका लागि पटक–पटक बसेको वार्ता टुंगोमा पुगेको छैन । अस्पताल प्रशासन, पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबीचको वार्ता बुधबार फेरि बस्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार चिकित्सक टोली र पीडित पक्षसँग वार्ता बिनानिष्कर्ष टुंगिएकोे प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
उता, अस्पताल संचालक नारायणप्रसाद पौडेलले अस्पतालमा भयरहित वातावरणमा उपचारको व्यवस्था प्रत्याभूत हुनुपर्ने बताउँछन् ।