लन्डन । बेलायत भ्रमणमा रहेका बाँसुरी र सनई वादक धनबहादुर गुरुङ एकल साँझ सम्पन्न भएको छ ।
आइतबार २४ सेप्टेम्बर २०२३ का दिन अलडरसटमा रहेको डिलाउन्ज रेस्टुरेन्ट एन्ड ककटेल बारमा 'धनबहादुर गुरुङ एकल साँझ' सम्पन्न भएको हो । डीएमटी इन्टरटेन्टमेन्ट यूकेको आयोजनामा भएको पहिलो कार्यक्रममा भेटेरन गायक वीरबहादुर थापा, डीएमटी ब्यान्डका गायक सन्तोष पुन तथा सारङ्गी चौतारी युकेले पनि प्रस्तुति दिएका थिए ।
स्रष्टा धनबहादुर गुरुङले कार्यक्रममा वाद्यवादन, गायन र तयारीमा खटिएकाहरुलाई धन्यवाद भनेका छन् । 'कार्यक्रममा उपस्थित सम्पूर्ण इस्टमित्रहरुलाई मुरी मुरी धन्यवाद । यो कार्यक्रम सफल पार्नको लागि डिएमटी ब्यान्डका मेरा मामा/सर/दाइ/भाइ/साथीहरु क्रमश : मीन गुरुङ, तुल्सी राना, दिनेश सर, रेशम, पाँचे मगर, सन्तोष पुन, कुमार गुरुङ, क्या.रि वीरबहादुर थापा र रफी श्रेष्ठ सबैले धेरैले मिहिनेत गरेर आआफ्नो बाजा मीठो बजाउनुभयो र गाउनुभयो । सारङ्गी चौतारीका समूहबाट क्रमश : केरजङ् गुरुङ, टंक शेरचन, डम्बर सर, मनोज, अन्जान, दिल तामाङ सबैले मीठो प्रस्तुति दिनुभयो विशेष धन्यवाद,' उनले भने, 'बहुमुखी प्रतिभाकी धनी गायिका पुनम गुरुङ बैनीलाई कार्यक्रमको अन्त्यसम्म भरपुर मनोरन्जन गराउनुभयो विशेष धन्यवाद । विशेषगरी यस कार्यक्रमका लागि दिनरात नभनी मेरो लागि यती ठूलो कार्य गर्दिनु भएकोमा दिनेश सरलाई मनैबाट आभार छ ।'
उमेरले ४ दशक पूरा हुन लागेका धनबहादुर गुरुङ बाँसुरी र सनई वादक हुन् । सन् १९८५ फेब्रुअरी १५ मा गोरखा जिल्लाको सिरानचोक नगरपालिका ३ हर्मिमा जन्मिएका गुरुङ १५ वर्षभन्दा बढी समयदेखि संगीत क्षेत्रमा निरन्तर लागिरहेका छन् । शास्त्रीय तथा लोक विधामा दक्ष धनबहादुर विश्वका ७ देश घुमेर सांगीतिक भ्रमणका रुपमा यतिबेला बेलायतमा छन् । उनी गोरखाली समाज यूकेको निमन्त्रणामा १७ जुलाई २०२३ मा बेलायत आएका हुन् ।
मनवीर गुरुङ र काली गुरुङको कोखबाट जन्मिएका बाँसुरी र सनही वादक धनबहादुरले भारतको अल्लाहवादस्थित प्रयाग संगीत समितिबाट बाँसुरीमा ब्याचलर्स (प्रभाकर) उत्तीर्ण गरेका छन् । संगीत सिकेपछि आफै गुरु अर्थात् संगीत शिक्षकका रुपमा पनि सन् २००७ देखि नै विभिन्न विद्यालयहरुमा पढाउँदै आएका छन् । उनले जेम्स स्कुल धापाखेल ललितपुरमा ११ वर्ष पढाए भने ललितपुरकै स्पेनी बबलर आर्ट क्लबमा १३ वर्ष टिचर बने । पछिल्लो समय नाद संगीत पाठशाला काठमाडौंमा सिकाउँदै आएका छन् ।
शास्त्रीय संगीत समाज, तमु कलाकार संघको केन्द्रीय कार्यकारी समिति सदस्य रहेका धनबहादुर संगीत कलाकार संघको आजीवन सदस्य तथा गोरखा सांस्कृतिक समाजको मानर्थ सदस्य छन् । संगीतकै दौरानमा जर्मनी, फ्रान्स, स्वीटजरल्यान्ड, स्पेन, चीन, साउदी अरेबिया, भारत पुगिसकेका उनले विभिन्न प्रतिष्ठित अवार्ड पनि थापेका छन् ।