पोखरा । ४४ औं विश्व पर्यटन दिवसमा पोखरामा विविध कार्यक्रम हुने भएका छन् । आगामी २७ सेप्टेम्बर (१० असोज) मा ‘टुरिजम एण्ड ग्रिन डेभलपमेन्ट’ मूलनाराका साथ विश्वभर पर्यटन दिवस मनाइँदैछ ।
पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले आइतबार पत्रकार सम्मेलन गरी पर्यटन दिवसमा मिनी सडक महोत्सव लगायत विविध कार्यक्रम गरेर मनाउने जनाएको हो ।
उक्त दिन साँझ ५ देखि फेवाताल किनार वाराहीचोकदेखि खहरेचोकसम्म हुने मिनी सडक महोत्सव हुनेछ । सडकमै खाऔं, सडकमै रमाऔं भन्ने उद्देश्यका साथ रेवानले सो महोत्सव गर्ने छ । जसमा नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिनेछ । साथै बाजागाजा, झाँकीसहितको ¥याली निकालिने छ । पर्यटकहरुलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ । जसले पोखरामा आन्तरिक एवं बाह्य पर्यटक भित्राउन मद्दत पुग्ने आयोजकको अपेक्षा छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आतिथ्य रहेको कार्यक्रममा भारतीय टूर अपरेटर, भारतीय मिडिया, नेपाली मिडिया र टूर अपरेटरबीच अन्तक्र्रिया समेत हुनेछ ।
गण्डकी प्रदेश सरकार, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने विविध कार्यक्रमअन्तर्गत अघिल्लो दिन २६ सेप्टेम्बरमा टान गण्डकीले पदयात्रा आयोजना गर्नेछ । व्यवसायी, पर्यटक र पत्रकारको सहभागिता हुने सो पदयात्रा मार्गीदेखि पुम्दीकोटसम्म हुनेछ ।
दिवसको दिन नाट्टा गण्डकीले पोखरा पर्यटक बसपार्कमा वृक्षरोपण गर्नुका साथै रक्तदान गर्नेछ । साथै पोखरास्थित पर्यटकीय संघसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटक बसपार्कमा ओर्लिने पहिलो पर्यटकलाई स्वागत सम्मान गर्ने छन् ।
पर्यटन दिवसको मूल समारोहको भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्लो समय कोरोना महामारीपछि चलायमान हुन लागेको पोखराको पर्यटनलाई थप टेवा दिन पर्यटन दिवसमा हुने कार्यक्रमले विशेष महत्व राख्नेमा आफूहरु आशावादी रहेको बताए ।