लन्डन । गायक राजेश बर्देवा यतिखेर सांगीतिक कार्यक्रममा व्यस्त छन् । सांगीतिक भ्रमणका सिलसिलामा बेलायतमा आएका उनी यहाँका विभिन्न सामाजिक संघ संस्था तथा समाजले आयोजना गरेका गतिविधिमा प्रस्तुति दिइरहेका छन्।
आगामी ७ डिसेम्बरसम्म बेलायत रहने उनले बेलायतवासी नेपालीको मन जित्दै गएका छन् । उनले भरसक धेरैभन्दा धेरै दर्शक माझमा जाने रहर भएको बताउँछन्।
उनले लोकगीत, दोहोरी, आधुनिक, पप, कौडा, सालैजो, यानिमाया, देउडा सबैखाले गीत गाएर दर्शक तथा श्रोतालाई प्रशस्त मनोरञ्जन दिने गरेका छन्।
हालसम्म ३ दर्जनभन्दा धेरै गीतहरुमा स्वर भरेका राजेशले थुप्रै विधाका गीतहरुमा आवाज दिएका छन् । ‘तिमी चाहिन्छ’ बोलको लोकदोहोरी गीतमा पूर्णकला विसीसँग उनले आवाज दिएका छन् । गितार बजाइदेउ, मायाजालमा पार्यो मायाले, फल मिठो, म त सानु विरानो गाउँको हो, डोको चोयाँको जस्ता थुप्रै गीत उनले गाएका लोकदोहोरी गीत हुन्।
सुन मेरा फ्यान्स, आज पानी नपरे हुन्थ्यो, आयो दसैंतिहार, कान्छीलाइ पट्यायो झिल्केले, नाँच मुइया घुम्तीनिर, सिसाको ऐना, आइफोन सेभेन लगायत थुप्रै पर्व गीतहरुमा स्वर दिएका छन् ।
लोकदोहोरी मात्रै नभएर लोकपप गीतमा पनि बर्देवाको स्वर उस्तै सुनिन्छ । पहिला पहिला, अर्काकी बुढी राम्री लाग्नी, आहा साइली लगायतका गीतमा उनले आवाज दिएका छन् । थुप्रै गीतमा संगीत तथा संगीत संयोजनसमेत गरेका उनी नेपालका ठुलठुला सांगीतिक कार्यक्रमका उद्घोषक पनि हुन् ।