पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा जारी २५ औं संस्करणको लामाचौर तीज महोत्सवको दोस्रो दिन आइतबार प्रमुख आकर्षण चर्चित गायिका समीक्षा अधिकारी बनिन् ।
तीजको मौसममा रातै कुर्थासलवारमा सजिएकी समीक्षाका आधा दर्जनभन्दा बढी गीतका प्रस्तुतिमा दर्शक पनि उर्लिए । गत वर्ष खुबै चलेको ‘कुरा बुझ्नु पर्छ’ बोलको तीज गीतमा त दर्शक छमछमी नाचेका थिए । गृहजिल्लामा खुलेर आफ्नो प्रस्तुति राख्दै उनले बीचबीचमा ‘पोखराको माहोल अझ तताउनुपर्छ’ भन्दै थिइन् । समीक्षाले धनगढीको बसमा, सूर्ति माड्दा–माड्दै गयो जोवान, हजुरलाई जाडो भा, पछ्यौरी लिइस्यो लगायत चर्चित गीत गाइन् ।
यसैबीच, लोकदोहोरी गायक दीपक खड्का, चोलेन्द्र पौडेल, गायिका लक्ष्मी बानियाँ, सरस्वती लामिछाने पनि विभिन्न प्रस्तुतिमा महोत्सव हेर्न पुगेका दर्शकलाई मनोरञ्जन दिलाए ।
महोत्सवको तेस्रो तथा अन्तिम दिन सोमबार लोकदोहोरी कलाकारहरु चिज गुरुङ, बविता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्काले गीत गाउने छन् ।
उता, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लामाचौरको सरस्वती आदर्श विद्याश्रम प्रथम भएको छ । भाष्कर ममोरियल दोस्रो र वेसलाइन एकेडेमी तेस्रो भए ।
संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा शनिबारदेखि महाेत्सव सुरु भएकाे हाे।