पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार फोटो पत्रकार उमेश पुनलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि २५ हजार ५ सय ५५ साथमा सम्मानपत्र छ ।
प्रतिभा छनोट समितिले गरेको सिफारिस आधारमा सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
सहारा क्लब स्थापनाको रजत जयन्ती अवसरमा शनिबार आयोजना हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।
डेढ दशकदेखि फोटो पत्रकारितामा क्रियाशील पुन हाल नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् । उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्य, संसदीय पत्रकार मञ्च गण्डकी सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव हुन् ।
यो पुरस्कारबाट गत वर्ष नारायण शाही सम्मानित भएका थिए । यस्तै, दीपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने उक्त पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।