लन्डन । नेपाली अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ आइतबार बेलायतमा प्रिमियर गरिएको छ । बेलायतको आइम्याक्स सिनेवल्र्डमा भएको रेड कार्पेट प्रिमियरमा उच्च पदस्थ व्यक्तिहरुलाई पनि निम्तो दिइएको थियो ।
मलाया युद्धमा नेपालीले प्रदर्शन गरेको वीरताको कथा समेटिएको ऐतिहासिक फिल्म ‘गोर्खा वारियर’ मिलन चाम्स निर्देशित फिल्म हो । सन् १९४९ मा मलाया युद्ध नेपालीले के कस्तो अवस्थामा लडेका थिए, तिनको परिवार तथा जीवनसमेत फिल्मले समेट्ने प्रयास गरेको छ । सर्वोत्कृष्ट निर्देशनका लागि राष्ट्रिय र अन्र्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित मिलन आफैँ पनि पूर्व सैनिक हुन् ।
फिल्म अनुग्रह ज्वेलर्सका सञ्चालक सफल युवा व्यवसायी सुमन राईद्वारा निर्माण गरिएको हो । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ ।
विजय लामा सैनिक मेजरको भूमिकामा छन् । नेपाल र मलेशियामा छायांकन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’ को गीत रचना र एलिस कार्कीका संगीत छ ।
लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्मित चलचित्रको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई छन् । एकान्टिङ पार्टनर ह्याम्सायर एकाउन्ट्स् हो ।
फोटोः सुदर्शन रञ्जित/गोर्खा मिडिया