लन्डन । रोधिं टेलिभिजन नेपालका लागि मुनाल फिल्म प्रालिले संचालन गरेको रोधिं कार्यक्रम आइतबार साउथहेरोस्थित गोल्डेन शिप रेस्टुरेन्टमा छायांकन भएको छ । रोधींको यो १३० औं भाग हो ।
रोधिं कार्यक्रम संचालक बालकाशी गुरुङलाई छायांकनका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका थिए । जसमा तमु धिं युके कोषाध्यक्ष डिलमाया गुरुङ संयोजक, तमु कलाकार सांस्कृतिक मञ्च युकेको सहकार्य, एभरेस्ट मिडियाका संचालक कुमार एस.के.को प्राविधिक सहयोग, सुशील गुरुङको साउण्ड सिस्टम सहयोग, तमु धिं युके, लमजुङ समाज युके, लमजुङ समाज युके आमा समुह, तमु धिं लन्डन इकाइ, तमु धिं लन्डन इकाइ आमा समिति, सिङ्दी पसगाउँ परिवार युके, तमु प्ये ल्हु संघ युके, पुन मगर समाज युके लगायतले सहयोग गरेका हुन् ।
छायांकनमा नेपालबाट सांगीतिक भ्रमणका लागि आएका कलाकारद्वय सागर गुरुङ र पुनम गुरुङले गाएर साथ दिएका थिए । बाद्यवादनतर्फ बाँसुरीमा पदम गुरुङ, जोर मादलमा कृष्ण गुरुङ, अमृत गुरुङ, हार्मोनियममा कुमार गुरुङले साथ दिए ।
बालकाशी गुरुङले रोधिं कार्यक्रमको परिकल्पना गर्दा बेलायत जस्तो मानव सभ्यताको महत्वपूर्ण देश बेलायतमा पनि रोधिं छायांकन हुन्छ भनेर नसोचेको र अहिले छायांकन हुँदा खुसी लागेको बताइन् । उनले आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचान समुद्रपारमा पनि उत्तिकै महत्व दिएकोमा खुसी व्यक्त गरिन् । संस्थागतरूपमा तमु कलाकार सांस्कृतिक मञ्च यूकेले पहिलो, दोश्रो र तेश्रो रोधिं साँझ भव्य रूपमा सम्पन्न गराइसकेकोमा यति छोटो समयमा १३० औं भाग बेलायतमा छायाँकन हुन सक्छ भनेर आफूले नसोचेको उनले बताइन् ।
नेपालमा रोधिं कार्यक्रम छायांकन विभिन्न गाउँ, समाजघर, पार्टी प्यालेसमा गरिन्थो । तर अब विश्वको जुनसुकै शहर, जहाँ नेपाली समुदाय बसोबास गर्दछन् त्यहाँ पनि सजिलै रोधीं छायांकन गर्न सकिन्छ भन्ने सन्देश दिएको बालकाशीले बताइन् ।
तमु धिं युकेको निमन्त्रणामा नेपाली मेला २०२३ मा सांस्कृतिक नृत्य तर्फको निर्णायकका लागि उनी बेलायत आएकी हुन् ।