पोखरा । सहारा हङकङका प्रमुख सल्लाहकार एवं पूर्व राष्ट्रिय खेलाडी तुल्सी गुरुङसहित उनको आफन्तबाट सहारा एकेडेमीको सहयोगार्थ १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
शनिबार पोखरा १७ दोभिल्लामा रहेको एकेडेमीमा आयोजित एक समारोहमा प्रमुख सल्लाहकार एवं पूर्वखेलाडी गुरुङसहित उनको आफन्तले रकम सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष नवराज अधिकारी लगायतलाई हस्तान्तरण गरेका हुन् । प्रमुख सल्लाहकार एवं पूर्वखेलाडी गुरुङकी आमा काली गुरूङको स्मृतिमा तुल्सीसहित उनका आफन्तहरु जसमाया गुरुङ, ज्योति गुरुङ, वाईखासा गुरूङले रकम सहयोग गरे ।
सहारा क्लबले निस्वार्थ र पारदर्शी ढंगले काम गरेकोले आफूहरुले आफ्नी आमाको स्मृतिमा सहयोग गरेको प्रमुख सल्लाहकार गुरुङले बताए । सहारा एकेडेमीमा रहेका वालकहरुलाई अनुशासनमा रहन आग्रह गर्दै उनले आफ्ना दिदी बहिनीको विशेष पहलमा सहयोग गर्न एकेडेमीसम्म आएको बताए ।
उक्त अवसरमा खेलप्रेमी दीपेन्द्र गुरूङले एकेडेमीका बालकहरुको लागि नगद ११ हजार सहयोग गरेका थिए भने उक्त अवसरमा आजीवन सदस्य लिल गुरुङले फलफूल समेत वितरण गरेको सचिव सुनिल रानामगरले बताए ।
क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरु बिक्रम थकाली, विरभद्र आचार्य, केशव बहादुर थापा, एन्फा गण्डकीका उपाध्यक्ष मिलन गुरुङ, सल्लाहकार सुनिल गुरुङ, मानार्थ सदस्य लोकबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतको सहभागिता रहेको थियो ।
क्लव स्थापनाको २५ बर्ष गाँठको अवसरमा क्लवले यस बर्ष रजत जयन्तीको अवसरमा शनिबार एक दीने पदयात्रा (हाईकिङ) तथा स्वास्थ्य परिक्षण समेत गरेको बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक केशवराज बरालले बताए । सहारा एकेडेमीबाट पोखरा २१ को निर्मलपोखरीसम्म पदयात्रा तय गरिएको थियो । अल्ट्रा प्याथ ल्याबले प्रेसर, सुगर र यूरिक एसिडको निःशुल्क परिक्षण गरेको ल्याबकी सुस्मिता बरालले बताए ।