पोखरा । पोखराका नेवार समुदायमा प्रचलित तायमचा नृत्य यसपालिको गाईजात्रा अवसरमा सम्पन्न भयो ।
३० टिमले भाग लिएको प्रतियोगितामा पुरुषतर्फ तेर्सापट्टी तायमचा समिति, पोखरा–३ प्रथम भएको छ । महिलातर्फ बागबजार बगर तायमचा समिति, पोखरा–१ प्रथम भयो ।
रानीपौवा तायमचा नाच समितिले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ प्रथम भएको तेर्सापट्टीले नगद ३ लाखसहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । जसमा नयाँबजार सांस्कृतिक समिति दोस्रो र भीमसेन टोल सुधार समिति तेस्रो भए । उनीहरुले क्रमशः २ लाख र १ लाख पुरस्कार पाए । मोहरिया सिंहनाथ टोल तायमचा समिति सान्त्वना हुँदै ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
महिलातर्फ लामाचौर नेवा खल गुठी र भण्डारढिक नेवा खल क्रमशः दोस्रो र तेस्रो भए । प्रथम, दोस्रो र तेस्रोले क्रमशः ४०, २० र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
पोखरामा साढे २ सय वर्ष पुरानो मानिने यो नाच २०५६ सालदेखि हरेक वर्ष प्रतियोगिताको रुपमा आयोजना हुँदै आएको छ । परीको पहिरनमा सजिएका ४ जना र जोकर १ जना घुमीघुमी तायमचना नाचिन्छ । पहिले पुरुषमात्र यो नाच नाच्ने गरेकोमा एक दशकयता महिलाहरु पनि नायमचा देखाउँछन् ।
कास्कीका राजा सिद्धिनरसिंह शाहको पालामा भक्तपुरका नेवार समुदायले भित्राएको किंबदन्ती छ ।