१२ जनवरी २०२३ मा तमु धिं युकेको नवनिर्वाचित अध्यक्ष हरि गुरुङको नेतृत्वमा नेपाल अवलोकन भ्रमणको लागि हामी हिथ्रो विमानस्थलबाट उडेका थियौं । उडानमा–
१. हरि गुरुङ, अध्यक्ष तमु धिं युके
२. सन्ध्या गुरुङ, अध्यक्ष तमु धिं युके आमा समूह
३. जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष तमु धिं युके
४. कमला गुरुङ, वरिष्ठ उपाध्यक्ष तमु धिं युके आमा समूह
५. हित काजी गुरुङ, निवर्तमान अध्यक्ष तमु धिं युके
६. सीता गुरुङ, निवर्तमान अध्यक्ष तमु धिं युके आमा समूह
७. मिनप्रसाद गुरुङ, संस्थापक अध्यक्ष तमु धिं युके
८. मञ्जु गुरुङ राई, संस्थापक सदस्य तमु धिं युके
९. भोज गुरुङ, कार्यसमिति सदस्य तमु धिं युके
१०. अप्सरा गुरुङ, अध्यक्ष पर्वत वेल्फेयर सोसाइटी युके
११. सोनिया गुरुङ, वैज्ञानिक युके (छोरी निवर्तमान अध्यक्ष हित काजी गुरुङ)
१२. मिनकुमारी गुरुङ, (सासु आमा हित काजी गुरुङ निवर्तमान अध्यक्ष तमु धिं युके)
१३. एकेन्द्र गुरुङ, ट्रष्टी तमु धिं युके हामी थियौं ।
नेपाल जाने भनेपछि सबै प्रशन्न देखिनु स्वाभाविकै हो । आफू जन्मेको देश, आफ्नो माटो, आफू हुर्किबढेको ठाउँ आफ्नो जन्मदिने आमा जस्तै हुँदोरहेछ । आफ्नो प्राणभन्दा प्यारो लाग्दोरहेछ । विछट्टै खुशी र उमङ्ग भएर निर्धारित समयमा जाँच गरी हामी जहाजभित्र आ–आफ्नो सिटमा बस्यौं । कतार ऐयरवेजले दोहामा ट्रान्जिट गराउँछ र दोहाबाट काठमाडौंमा अर्को विमानबाट अवतरण हुन्छ ।
त्रिभुवन विमानस्थलमा हामीलाई लिन गोर्खा मिडिया डटकम अनलाइन न्यूज पोर्टलका प्रबन्ध निर्देशक मिलन तमु गुरुङ, होटेल गोर्खा हेरिटेजका प्रबन्ध निर्देशक विजय गुरुङ र होटेल घान्द्रुक मेश्रोमका प्रबन्ध निर्देशक काजी गुरुङ बाहिर कुरिरहनुभएको थियो । छिटो-छिटो सामान बुझेर हामी बाहिर निस्क्यौं । नेपालमा टेकिरहँदा जहिले पनि एक खालको खुशी, हर्ष र आनन्दको अनुभूति हुन्छ । उहाँहरुबाट हामीलाई पुष्पगुच्छा, माला र खादाले स्वागत गर्नुभयो, त्यसले माहोल झनै विचित्रको बनायो । हर्षको आँसु टिलपिल खसाल्दै भावुक-भावुक जस्तै हुँदै बाहिर निस्कन्छौं । हामी सबै सुन्धाराको होटेल हेरिटेजमा पुग्दा सूर्य बादलुको घुम्टोसँगै क्षितिजबाट चिहाइरहेको थियो ।
छिटो-छिटो नुहाइधुवाई गरेर तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् र तमु कलाकार संघ नेपालको संयुक्त आयोजनामा तमु ह्युल छोंज धींको भवन गोगंबुमा जानु पर्ने थियो । हामी सबै त्यहाँ पुग्दा छोंज धीं र कलाकार संघका साथीहरु सबै भेला भइसकेका थिए । कार्यक्रम जतिसुकै छोटो बनाउन खोजे पनि नेपालीहरुको कार्यक्रम आशनग्रहण र भाषणले नै समय बढी लिएको हुन्छ । कार्यक्रममा तमु ह्युल छोंज धींको अग्रज व्यक्तित्वहरु, बुद्धिजीवीहरु, तमु सञ्चारकर्मीहरु, कलाकारहरुको सहभागिताले आफैमा मर्यादित र भद्रजस्तो भएको महसुस भएको थियो । कार्यक्रम स्वागत र सम्मानमात्रै भने पनि नाचगान र खानपान नहुने कुरै भएन । नाचगान अत्यन्त सुन्दर देखिन्थ्यो, खाना पनि मीठो थियो सायद खुसीले होला । बेलायतदेखि नेपालसम्मको लामो दुरीको यात्रा र नमिलेको निद्राले गर्दा वास्तवमा थकित थियौं त्यसैले ढिलो नगरिकन हामी होटेलमा फर्कियौं ।
भोलिपल्ट बिहानको ब्रेकफास्ट खाएर एउटा गाडी भाडामा लिएर हामी पोखराको लागि बाटो तताउँछौं । बाटोमा हामी कसरी माहोल रंगिन र रोचक बनाउने भनेर सबैले रमाइला टुक्काहरु, किस्साहरु सुनाउने प्रयास गरेका थिए । त्यसैले रमाइलो माहोल हुने नै भयो । गाडीमा अलिकति असुविधा, अलिकति धूलो र गर्मी भए पनि नेपालमा आफ्नो देशमा भएकोले हामी कसैले कसैलाई कुनै असहज र असुविधाको गुनासो गरेको सुनिएन । गाडीभित्रको अवस्थिति रमाइलो र सहज भए पनि राजमार्गको स्तरोन्नतिको कारणले ठाउँ ठाउँमा धूलो, हिलो र जाम सबै देखिन्थ्यो । त्यसैले हामीले अनुमान गरेको समयमा पोखरा पुग्न सकसै भएको थियो ।
पोखरामा हामी तमु धिं युकेको टोलीलाई स्वागत र सम्मान गर्न २३ वटा सामाजिक संघहरु कुरिरहेको थियो । उताबाट फोन आइरहेको थियो तर हामी विवश थियौ । बाटोमा भएको ढिलाईको कारण पोखराका साथीहरु थाकिसक्नु भएको थियो । तसर्थ हामी घरमै नगइकन सबै कार्यक्रमस्थल रोयल किचन दिदीबहिनी रेस्टुरेन्टमा गयौं । पोखरामा रहनुहुने तमु धिं युकेको नेपाल प्रतिनिधि सल्लाहकार मेजर रिटायर्ड लक्ष्मीप्रसाद गुरुङको पहलमा यो कार्यक्रम भइरहेको थियो । अतिथिहरुलाई फूलमाला, खादा, टोपी, मायाको चिनो र भव्य स्वागतले गर्दा थाकेको, धूलोमुलो भएको सबै बिर्सिसकेको थियो । व्यवसायी कलाकारहरुको नृत्य हेर्दै खाना खाँदै गर्दा समय धेरै गइसकेको पत्तै भएन ।
वास्तवमा कार्यक्रम भव्य र सभ्य भएको थियो । यस्तो रमाइलो कार्यक्रम बीचैमा छोडेर हामी आ–आफ्नो घरतिर लाग्यौं । भोलिपल्ट हामी सबै सिक्लेस जाने तयारीमा लाग्यौं । तमु धिं युकेमा नयाँ अध्यक्ष भएपछि सिक्लेसमा जाने गर्दछ । सिक्लेस जानै पर्ने बाध्यता चाहिँ होइन तर हामी जाने गर्दै आएका छौं । यो हाम्रो बीचको सद्भाव हो । यस्तो सद्भाव सधैं सधैं रहिरहोस् सदीक्षा व्यक्त गर्दछु ।
सिक्लेस अन्नपूर्ण हिमश्रृंखलाको फेदमा अवस्थित एउटा रमणीय गाउँ हो । गुरुङ संस्कार, संस्कृतिमा सिक्लेस धनी मानिन्छ । सिक्लेसलाई गुरुङ भाषामा चिउली भनिन्छ । यो गुरुङ भाषाको चे ल्हे शब्दबाट बनेको हो । गुरुङ भाषामा 'चे' को अर्थ समथर र 'ल्हे' को अर्थ खर्क भन्ने बुझाउछ (प्रा.डा. जगमान गुरुङ) अथवा चि लि को अर्थ समथर खर्क भन्नु हो । गुरुङ भाषाको चि लि शब्दबाट चिलिस हुँदै नेपाली भाषाको वर्तमान सिक्लेस हुन आएको हो ।
पहिले-पहिले गुरुङ भाषाको वर्तमान सिक्लेस पोखराबाट काउखोला, विजयपुर, काभ्रे, छाचोक, ज्याम्दु, चासु र सोदा हुँदै गइन्थ्यो । आजकल सिक्लेस गाडीमा गइन्छ । सिक्लेसमा हामी गाडीमा जान सक्छौं । गाडीमा जाँदा थाक, तप्राङ र चिउली भएर जान्छौं । दिनभरि लगाएर मुस्किलै पुग्ने सिक्लेसमा हामी चार घण्टामा पुग्छौं । उहिले रोधीको चेलीहरु माघे संक्रान्तिमा सिक्लेसको चि लि क्यू फुई (सिक्लेसको चोखो पानी) तीर्थ जान्थे । कोही पोखराको ढुंगेसाँघु जात्रा पनि जान्थे । त्यसरी नै रोधीको रोस्योहरु दूधपोखरीको जात्रा पनि जान्थे । दूधपोखरी जात्रा जनै पूर्णिमामा लाग्दछ ।
अनौठो कुरा के छ भने पानीको मूल फुट्नु भनेको वर्षको ठूलो झरीमा हो । अघि पछि पानी नपर्ने सुख्खायाममा फुट्दैन । तर सिक्लेसमा माघे संक्रान्तिमा राति पानीको मूल निस्कन्छ । संक्रान्तिको अघिल्लो दिन चोखोनिधो भएर मूल फुट्ने मूलको वरिपरि भएको पात पतिङ्गर सबै सफा गर्नुपर्छ । गाउँलेहरु यसलाई शक्तिभूमि र तपोभूमि भनि आस्थाको प्रतिक ठान्छन् । हामी पोखराबाट सिक्लेस जानेहरुमा–
१. हरि गुरुङ, अध्यक्ष तमु धिं युके
२. सन्ध्या गुरुङ, अध्यक्ष तमु धिं युके आमा समूह
३. जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष तमु धिं युके
४. कमला गुरुङ, वरिष्ठ उपाध्यक्ष तमु धिं युके आमा समूह
५. हित काजी गुरुङ, निवर्तमान अध्यक्ष तमु धिं युके
६. सीता गुरुङ, निवर्तमान अध्यक्ष तमु धिं युके आमा समूह
७. मिनप्रसाद गुरुङ, संस्थापक अध्यक्ष तमु धिं युके
८. मुक्षेत्र गुरुङ, पूर्वअध्यक्ष तमु धिं युके
९. अप्सरा गुरुङ, अध्यक्ष पर्वत वेलफेयर सोसाईटी युके
१०. मञ्जु गुरुङ राई, संस्थापक सदस्य तमु धिं युके
११. भोज गुरुङ, का.स. तमु धिं युके
१२. श्रीप्रसाद गुरुङ, पूर्व कार्यसमिति सदस्य तमु धिं युके
१३. सोनिया गुरुङ, वैज्ञानिक युके (छोरी निवर्तमान अध्यक्ष हित काजी गुरुङ)
१४. तिलक गुरुङ, गायक लमजुङ
१५. बालकाशी गुरुङ, प्रबन्ध निर्देशक रोंधी कार्यक्रम
१६. युग गुरुङ, प्रबन्ध निर्देशक तमु मैं ता पोखरा
१७. एकेन्द्र गुरुङ, ट्रष्टी तमु धिं युके
सिक्लेस पहिले गइसकेको ठाउँ भएकोले कसरी जाने ? कहाँबाट जाने, कोसँग जाने भन्न कुरा केही पनि सोच्नै पर्दैन थियो । त्यसमा पनि तमु धिं युकेको संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ सिक्लेसको हुनुहुन्छ । उहाँ हामीसँग सँगै हुनुभएकोले झनै सहज भइरहेको थियो । हामीलाई औपचारिक कार्यक्रममा ढिलाई हुने त्यस्तो खासै केही नभएकोले बाटोमा चिया खाँदै, गफ गर्दै, रमाइलो गर्दै जाँदै गर्दा सिक्लेसको बसपार्कमा नपुग्दै वरैबाट गाडीबाट झर्यौं । हाम्रो स्वागतको लागि पञ्चेबाजाको टोली बाटैमा कुरिरहेको रहेछ । नौमती बाजाको साथमा जाँदै गर्दा आमा समूह पनि फूलमाला र अबिर लिएर स्वागतको लागि लामबद्ध भएर उभिएका रहेछन् । फूलको मालाले स्वागत गर्ने सिक्लेसको विशेषता नै हो । सायद यो एक्याभको कारण पनि हुनसक्छ । अतिथि सत्कारको यो अनुपम नमुना हो । अतिथिलाई सम्मान गर्ने सुन्दर पाटो हो ।
सिक्लेस जाँदा तमु धिं युकेको टोली पूर्वअध्यक्ष नन्दजंग गुरुङ र कास्की क्षेत्र नं १ का संघीय सांसद मनबहादुर गुरुङको घरमा गएर बस्ने गर्छौं । प्रायःजसो त्यही गएर बस्ने हुनाले हामीलाई सहज पनि लाग्छ । अहिले सिक्लेसमा अरु पनि धेरै सुविधासम्पन्न घरहरु निर्माण भएको छ । छिटो-छिटो हामी हाम्रो सामान कोठामा थन्क्याएर कार्यक्रमस्थलमा पुग्यौं । यो कार्यक्रम सिक्लेसी मेलाको दोस्रो दिनको कार्यक्रम थियो । हामी पुग्दा ठेलो हान्ने कार्यक्रम चलिरहेको थियो । हामी पुगेको सायद कसैले खबर गरिदिएझैं हामीलाई फटाफट आशनग्रहण गराउनुभयो ।
ठेलो कार्यक्रमको प्रमुख अतिथि दक्ष गुरुङ दाइ हुनुहुदोरहेछ । उहाँ मेरो चिरपरिचित आदरणीय दाइ हुनुहुन्छ । उहाँको उमेरमा त्यो वरिपरि सबै ठाउँको ठेलो उहाँले नै जित्नुहुँदोरहेछ । दर्शकले भरिभराउ ठेलो प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक देखिन्थ्यो । कार्यक्रमको औपचारिक घोषणा आयोजकले सभा घरमा गएर गरेको थियो । ठेलोको विजेता उपविजेता (ठेलोको भाषामा भाले पोथी)लाई पुरस्कार प्रमुख अतिथि दक्ष गुरुङबाट वितरण भएको थियो ।
कार्यक्रममा आमा समूह, युवा क्लबको तर्फबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । सांस्कृतिक कार्यक्रम सकिनसाथ हामी तमु धिं युकेको संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङको घरमा गयौं र तातोतातो चिया र मीठोमीठो झिलिङ्गे, सेलरोटी टन्न खायौं । गुरुङ संस्कृतिमा अतिथिलाई स्वागत गर्ने यो पुरानो परम्परा हो । यो संस्कृति अद्वितीय हुन्छ । हामी हाम्रो बासस्थानमा झर्दा हाम्रो लागि मासु पोलिरहेको थियो । सायद यो कतैबाट संचालित रिमोट कन्ट्रोलको बन्दोबस्त हुन सक्छ । फराकिलो आँगन, आँगनको बीचमा वोनफायर, तीनपाने कोदोको रक्सी याने कि (लोकल नारे पा) अनि सुमधुर गीतहरु जसले गर्दा हिमालको काखमा रहेको सिक्लेसमा नभएर युकेकै कतै भएजतो आभाष भएको थियो ।
मीठो सेकुवा, नारेपा खाँदै गर्दा पारि ताङतिङ गाउँको झिलिमिली आँखामा टाँसिन आए झैं लाग्ने मनोरम दृश्यमा हाम्रो भ्रमण साँच्चिनै रोमाञ्चित भएझैं लागेको थियो । हामी खाना खाएर कार्यक्रम स्थलतिर लाग्यौं । सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि तमु धिं युकेको अध्यक्ष हरि गुरुङ हुनुहुन्थ्यो । सांस्कृतिक कार्यक्रमको औपचारिक कार्यक्रम छोटो र मीठो थियो । गुरुङ गीतको बोलमा अन्तरगाउँ र क्लबको बीचमा हुने प्रतियोगिताको निर्णायकहरु सबै पोखराबाट गएको थियो । प्रतियोगीहरु घान्द्रुकबाट पनि सहभागी भएको रहेछ । अर्थात् खुल्ला प्रतियोगिता भनेपछि कास्की, लमजुङ र पर्वत जहाँबाट पनि भाग लिन पाउने रहेछ । गुरुङ गीत, संगीत र संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यो कार्यक्रम कोशेढुंगा सावित हुनेमा दुईमत थिएन । सबै गुरुङहरुले यस्तो कार्यक्रम तर्जुमा गर्नुपर्छ, जुन आजको आवश्यकता हो ।
हामी हाम्रो बासमा आइपुग्दा अघिको वोनफायर फेरि सुरु भएको थियो । नारे पा र सुकुटी खाँदै गाउने नाच्ने कार्यक्रम सुरु भएको थियो । म मेरो बिस्तरा तताउनतिर लागेँ । भोलिपल्ट पोखरामा मेरो घरायसी कामले गर्दा फर्कनु थियो । भोज भाइ (तमु धिं युकेको कार्यसमिति सदस्य) र म बिहानको नास्ता खाएर साथीहरुसँग बिदा भएर फर्कियौं । बाटोमा गत साँझमा भएको सांस्कृतिक कार्यक्रमको निर्णायकद्वय साजन गुरुङ र कमल गुरुङसँगै रमाइलो गफ गर्दै पोखरा फर्कियौं ।
अरु साथीहरु नयाँ निर्माण गरेको कोइबों धींको कार्यक्रममा सहभागी भएर गाउँ माथिको निर्माणधीन बगैंचाको अवलोकन भ्रमण गर्दै, बिहानको खाना खाएर दिउँसो पोखरा आइपुग्नु भएको थियो ।