काठमाडौं । नेपालमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले शनिबारदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गरेको छ ।
सो अभियानको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट उद्घाटन गरे ।
सो क्रममा उनले वर्तमान सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै कामलाई अगाडि बढाएको बताए । उनले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको बताए ।
सरकारले नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरिएको उनको भनाइ थियो ।
यस्तै, मिटरब्याज पीडितका पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि
नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षामा ल्याइएको बताउँदै राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र सामाजिक न्यायका क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको उनको दाबी थियो ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकाङ्क सकारात्मक दिशातर्फउन्मुख रहेको तथ्याङ्क प्रधानमन्त्री दाहालले पेस गरे । असार मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको उनको भनाइ थियो ।
त्यस्तै, विप्रेषण आयमा २१ दशमलव २ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भदौ ११ गते मात्रै नेपाल राष्ट्र बैंकले लचिलो बजार नीतिअनुसार चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको र त्यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्धि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको बताए ।
माओवादीको साउन १७ देखि २१ साउनसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुरुप जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिबार एकैसाथ सुरु भएको हो । यो अभियान ३ महिनासम्म चल्नेछ ।
अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रीय कमिटी सदस्यलाई कार्यक्षेत्र तोकिसकेको छ । माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ राखेको छ ।
अभियानको क्रममा त्यस्तै नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखिएको जनाइएको छ ।
अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूबारे जानकारी गराउने माओवादी रणनीति छ ।