काठमाडौं । गायिका पवित्रा गुरुङले उत्कृष्ट गायिकाको अवार्ड जितेकी छिन् । काठमाडौंको नाचघरमा आयोजित ‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड–२०८०’ मा उनले गुरुङ भाषाको गीततर्फ उत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएकी हुन् । उनले ‘लैसारा मुनसम्म..’ गीतबाट उक्त अवार्ड प्राप्त गरेकी हुन् ।
विभिन्न आदिवासी जनजाति कलाकारको सयौं गीतको भिडियो र केही चलचित्र निर्माण गर्दै आएको क्वालिटी फिल्मस् प्रालिले उक्त अवार्ड समारोह आयोजना गरेको थियो ।
पवित्रा र सहजकुमार घलेले गाएको उक्त गीतको गीतकार एवं कम्पोजर मनोज गुरुङ हुन् । एरेन्ज तेजेन्द्र गुरुङले गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईलगायतका आदिवासी स्रष्टाले समारोहमा करिब २ दर्जन विधामा अवार्ड तथा सम्मान प्रदान गरे । समारोहमा राई, लिम्बु, सुनुवार, थकाली, नेवार, गुरुङ, मगर, तामाङ, थारू, शेर्पा, थकाली तथा गैरआदिवासी कलाकार आआफ्नो भेषभूषामा सजिएर आएका थिए । विविध भेषभूषाका कारण अवार्ड समारोहमा विविधतामा एकताजस्तो देखिएको थियो ।
आदिवासी जनजातिको हकहितका लागि आफूहरुले यो अवार्ड गरेको क्वालिटी फिल्म्सका अध्यक्ष एवं चलचित्र निर्देशक उमेश गुरुङले बताए । अवार्ड संयोजक सनी लिम्बुले आगामी दिनमा यो अवार्डमा अझ धेरैभन्दा धेरै भाषाभाषीको गीतसंगीत तथा चलचित्र समेट्ने बताइन् ।
समारोहमा विभिन्न आदवासी जनजातिको गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।