पोखरा । आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक शक्ति निर्माणका साथै सशक्त आन्दोलन आवाश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन् ।
आदिवासी जनजाति संघर्ष समिति गण्डकीले बुधबार पोखरा महानगरपालिका ९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रमका वक्ताहरुले अधिकार प्राप्तिका लागि आफ्नै राजनीतिक शक्ति र सशक्त आन्दोलन आवश्यक रहेकोमा जोड दिएका हुन् । कार्यक्रममा लेखक, साहित्यकार एवम् राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, राजनीतिक विश्लेषक डम्बर खतिवडा र अधिकारकर्मी वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले आदिवासी जनजाति साँस्कृतिक समूह हुँदै अब राजनीतिक निर्णायक शक्ति बन्नुपर्नेमा जोड दिएका हुन् ।
लेखक, साहित्यकार एवम् राजनीतिक विश्लेषक संग्रौलाले कार्यक्रममा विचार व्यक्त गर्दै नेपाली जनताले पटक-पटक आन्दोलन गरी व्यवस्थाहरु परिवर्तन गरे पनि सोच र व्यवहारमा शासकत्व यथावत रहेकाले विभेदमा पारिएका महसुस गरेका आदिवासी जनजातिले अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक शक्ति निर्माण र सशक्त आन्दोलन गर्नुपर्ने बताए । मधेसमा लामो समयदेखि राजनीतिक शक्तिको अभ्यास र एकीकृत आन्दोलनले नै प्रदेशको नाम मधेस र विभिन्न अधिकार स्थापित गर्न सकेको हो भने पुर्वमा कोशी नामकरण खारेजी गरी किरात लिम्वुवान प्रदेश नामकरणका लागि पहिचानको आन्दोलन गाउँ टोल टोलमा पुगेकाले सकारात्मक परिणामको अपेक्षा रहेको उनको भनाइ थियो।
अर्का वक्ता राजनीतिक विश्लेषक खतिवडाले आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मुक्तिको आन्दोलन, समतामूलक समाज निर्माण, समान अधिकारका लागि भएको बताए । उनले आन्दोलन परिणाममुखी बनाउन सांस्कृतिक समूहलाई राजनीतिक प्रादेशिक शक्तिको रुपमा विकास गर्नुपर्ने बताए । राष्ट्रिय चरित्रको पार्टीको आवाश्यकता छ, त्यसका लागि आदिवासी जनजाति आन्दोलन राजनीतिक शक्तिको रुपमा रुपान्तरण गर्न सक्नुपर्नेमा जोड दिए । अहिलेका पुराना पार्टी र नेताहरुबाट आदिवासी जनजातिका अधिकार अपेक्षा गर्न नसक्ने भएकाले आफ्नै राजनितिक शक्ति निर्माण जरुरी रहेको बताए ।
अधिकारकर्मी वरिष्ठ अधिवक्ता थापामगरले पहिलो संविधानसभा विघटन हुनु नै नेपालका आदिवासी जनजातिहरुले प्राप्त हुने अधिकार खोसिएको बताए । आन्दोलनहरुले व्यवस्थाा परिवर्तन गरे पनि अझै पनि राज्य एकल नै भएको उनको भनाइ थियो ।
आदिवासी जनजातिका विगतको आन्दोलनको समीक्षा गर्दै सचेततनापूर्व राजनीतिक शक्ति निर्माणका साथ आन्दोलित हुन सकिए अधिकार प्राप्ति ँदै जाने उनको भनाइ थियो ।
अन्तरक्रियामा सहभागीहरुको जिज्ञासाका बारेमा वक्ताहरु संग्रौला, खतिवडा र थापामगरले प्रस्ट पारेका थिए ।
आदिवासी जनजाति संघर्ष समिति गण्डकीका संयोजक धर्मबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक हुमबहादुर गुरुङले स्वागत, आदिवासी जनजाति महासंघ गण्डकी सचिव तथा संघर्ष समिति युवा सचिव तोरन गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा बाक्लो उपस्थिति थियो ।