पोखरा। सहारा क्लब पोखराको आयोजनामा गत वर्ष भएको २२ औं आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख १८ हजार बचत भएको छ । आयोजकले मंगलबार आयव्यय सार्वजनिक गर्दै सो कुरा जनाएको हो ।
प्रतियोगिताबाट ९४ लाख ६५ हजार आम्दानी भएकोमा खर्च कटाइ उक्त रकम बचत भएको आर्थिक संकलन उपसमिति संयोजक सुनिल गुरुङले बताए । उनले पोखरा रंगशाला ग्राउण्ड व्यवस्थापन खर्च वापत १ लाख ७१ हजार लागेकाे जनाए।
पोखरा रंगशालामा पुसमा भएकाे प्रतियोगितामा १० टिमले भाग लिएका थिए । जसमा संकटा क्लबले उपाधि जितेको थियो भने भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता भएको थियो ।
मुख्य प्रायोजक रहेको हिमश्री फुड्सले २२ लाख २५ हजार सहयोग गरेको भने प्रबद्र्र्धक पोखरा महानगरपालिकाले १० लाख दिएको थियो ।
क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली, वरिष्ठ उपाध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । जसमा कठिन परिस्थिति एवं विपन्न वर्ग बालकलाई फुटबल प्रशिक्षण सहित गासबास र शिक्षादीक्षाको व्यवस्था छ ।
२०५५ सालमा स्थापना भएको सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो । क्लबले सहारा क्लब युके, सहारा हङकङ र सहारा अष्टे«लियामा पनि शाखा बिस्तार गरेको छ ।