लन्डन । प्राय: नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुतिमा रमाइरहने बेलायतवासी नेपालीहरु शुक्रबार साँझ पुन: लोकप्रिय गायक प्रकाश सपूतसँग गाए, नाचे र रमाएका छन् ।
लोकदोहोरी क्षेत्रमा पछिल्लो पुस्ताका जल्दाबल्दा कलाकार सपूत साँझ करिब साढे ८ बजेतिर अल्डरसटस्थित एम्पायर हलको स्टेज उक्लिएदेखि नै लोक पारखीले भरपूर साथ दिएका थिए । केप्लर इभेन्ट्सले 'प्रकाश सपूत धमाका' कार्यक्रम आयोजना गरिएको थियो । देशभक्ति, विरह र यथार्थका गीत गाएर चर्चा कमाउन सफल गायक प्रकाश शुक्रबार पनि नेपालीपन झल्किने पहिरनसहित कार्यक्रममा उपस्थित थिए ।
भिडियो
उनी नेपाली झन्डा बेरिएको कमिज अनि शिरमा ढाका टोपीसहित स्टेजमा उक्लिँदा दर्शकहरुको मायामिश्रित हुटिङ र साथसाथैको गायनले उनी पनि निकै खुसी देखिन्थे । 'ठूलाठूला समुद्र छ खोली भेटिँदैन, मूलको पानी खाएजस्तो तिर्खा मेटिँदैन...' गीतबाट धमाका मच्चाउन सुरु गरेका प्रकाशले गीत गाउनुअघि र बीच्च बीच्चमा टुक्का (तुक्का) र सायरीको बर्षा गराएका थिए ।
पहिलोपटक बेलायत आएका प्रकाशले औधी खुसी व्यक्त गरे । कार्यक्रममा दर्शक झुम्मिएको देखेर उनी झनै हौसिएका देखिन्थे । कार्यक्रममा उनले खुसी हुँदै सुनाए, 'एक जना कलाकारले यूकेमा जस्तो कार्यक्रम रमाइलो कहीं हुन्न भनेका थिए । हो रहेछ । कलाकारभन्दा दर्शक यत्ति ट्यालेन्ट ।'
खचाखच भरिएको एम्पायर हलका दर्शकलाई कार्यक्रम अवधिभरि नै तन र मन हलचल गराउन सफल प्रकाशले 'टलटल टल्किने ऐना...', 'मेरो माया जस्तो त कोही छैन...', 'गलबन्दी च्यातियो..' लगायत दर्जन गीत गाएका थिए ।
गायनको तालमा ताल, सुरमा सुर मिलाउन सक्ने गायकसमेत रहेका कार्यक्रम सञ्चालक मनसुदन थापाको आकर्षक उद्घोषण थियो ।
गायक सपूत भदौ ६ अर्थात् २३ अगस्ट बुधबार लन्डनस्थित हिथ्रो विमानस्थल आइपुगेका थिए । विमानस्थलमा उनलाई एनआरएनए यूके पूर्वप्रमुख संरक्षक शेर सुनार, आयोजकमध्येका अनिल मल्ल, मनसुदन थापा, तारा गर्बुजा, मनोज गुरुङलगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा गायक सपूतसँगै गाउने र नाच्नेको कमी थिएन । त्यस्तै विभिन्न दरका पाउन्ड शिरमा सिउरिने र खादा, मायाको चिनो गायक सपूतलाई दिनेहरुको पनि लाइन स्टेजमा लागेको थियो । शुक्रबारको कार्यक्रम सफल भएको आयोजकले जनाएको छ ।