मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा बुधबार भएको बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिला छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन् । साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ । तर दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उक्त दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
“सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका छन्, “घाइते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।”
उनले घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।