पोखरा । मुनाल फिल्म प्रालिद्वारा सञ्चालित रोधिं टेलिभिजनले प्रथम स्थापना दिवस मनाएको छ । म्याक्स टेलिभिजनको सहकार्यमा नेपालकै पहिलो सांस्कृतिक टेलिभिजन रोधिं सञ्चालन वर्षदिन पुगेको अवसरमा पोखरामा आयोजित समारोहमा स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मन्त्री वेदबहादुर गुरुङले रोधिं सांस्कृतिक विश्वविद्यालय भएको बताए । तमुहरुको पवित्र संस्था रोधिंमा तमुहरुलाई नैतिवान बन्ने, सांस्कृतिक संरक्षण गर्ने, ज्ञानसिपहरु हस्तान्तरण गर्दै लैजाने, गाउँ समाजको थिति बसाल्ने, किशोर एवं युवापुस्तालाई व्यावहारिकरुपमै सामाजिक शिक्षा पढाउने, जीवनशैली निर्माण गर्ने मौलिकता, सामाजिक एवं सांस्कृतिक ज्ञानको विश्व विद्यालय भएको उनको भनाइ थियो ।
गोर्खा मिडियाका सम्पादक समेत रहेका तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको पवित्र संस्था रोधिंको गलत भाष्यलाई रोधिं टेलिभिजनले उचित जवाफ दिएको भन्दै धन्यवाद दिए । रोधिं एक सिर्जनशील घर भएकाले तमु समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण र विकासका साथै जनचेतनामुलक कार्यक्रमहरुलाई टिभीले विषयवस्तु बनाउनु जरुरी रहेको बताए ।
मुनाल फिल्मका अध्यक्ष भोजबहादुर गुरुङले आफूहरुसँग वर्षो पुग्ने कन्टेन्ट रहेको बताए । सुरुमा मुनाल फिल्मले गुरुङ चलचित्र, गाउँ बस्ती चिनारीका लागि बनाइने म्युजिक भिडियो, युट्युब कन्टेन्ट, विज्ञापन सामग्री आदि निर्माण गर्दै आएकोमा म्याक्स टेलिभिजनबाट निरन्तर प्रसारण भइरहेको बताए ।
टेलिभिजन प्रसारक संघका महासचिव मनोज गुरुङले छोटो समयमा रोधिं टिभिले धेरै दर्शकस्रोताको मनजितेको बताए ।
रोधिं कार्यक्रम प्रस्तोता बालकाशी गुरुङले गुरुङको बढी बसोबास भएको ठाउँ पोखरामा रोधिंले विषयबस्तुसँग सम्बन्धित आवश्यक सामग्री तयार पार्न त्यति कठैनाइ नभएको बताउँछिन् ।
सञ्चालक मनोज गुरुङसँगको सहकार्यमा सुरुवात भएको रोधिंले हालसम्म आइपुग्दा डेढ सय भाग छायांकन गरिसकेको मुनाल फिल्मका प्रबन्ध निर्देशक भोजबहादुर गुरुङले बताए ।
चर्चित लोकदोहारी गायक चिज गुरुङ र निर्जला गुरुङलगायत कलाकारले सो अवसरमा विभिन्न प्रस्तुति राखेका थिए ।
कार्यक्रम मुनाल फिल्मका सञ्चालक एवं प्रवन्ध निर्देशक भोजबहादुर गुरुङको अध्यक्षतामा भएको हो । रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङको स्वागत र लोकदोहोरी गायक टस बहादुर गुरुङल संचालन गरेका थिए ।