पोखरा । पोखराका गुरुङ समुदायले मंगलबार आफ्नो परम्परागत सांस्कृतिक पर्व ट्होंटे मनाएका छन् । उनीहरु विभिन्न भावभङ्गीमा सजिएर र्याली प्रदर्शन गरे ।
तमु धिं नेपालको आह्वानमा भएको उक्त कार्यक्रममा गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको ठूलो संख्यामा सहभागिता थियो ।
पर्व अवसरमा विभिन्न ठाउँबाट पोखरामा भेला भएका गुरुङ समुदायले पोखराका विभिन्न ठाउँमा ¥याली प्रदर्शन गरे । र्यालीमा उनीहरु आफ्नो कला संस्कृति झल्किने परम्परागत भेषभूषामा सजिएका थिए । पुरुषहरु भाङ्ग्रा, भोटो, आस्कोट, कछाडमा र महिलाहरु छिट्को गून्यू, टिकिस, घलेक र पटुकामा चिटिक्क सजिएका थिए ।
भूतप्रेत हट्ने विश्वासका साथ केहीले भूतप्रेतजस्तो बनी मुखमा कालोमोसो दल्नुका साथै मुखुण्डो लगाएका थिए । र्यालीमा सहभागीमध्ये विभिन्न विधामा उत्कृष्टलाई पुरस्कृत समेत गरिएको छ । पोखरामा शिक्षण संस्थामा बिदा दिइएकोले धेरै स्कुले विद्यार्थीहरु पनि सहभागी थिए ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विगतमा गाउँघरमा भुतप्रेत धपाउने र रोगब्याधि नलागोस् भन्ने उद्देश्यले सो पर्व मनाउने चलन रहेकोमा पछिल्लो समय संस्कृतिको संरक्षणसँगै समाजका व्याप्त विकृति–विंसगति अन्त्यको कामना गर्दै मनाउने चलन रहेको बताए ।
गुरुङ भाषामा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउने भन्ने हुन्छ । राज्यबाट शत्रूलाई भगाउनु तथा धपाउनुनै वास्तवमा ट्होटे हो । ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ ।
ट्होंटे साउन र चैतको अन्तिम मंगलबार गरी वर्षमा दुई पटक मनाइने गरिन्छ ।