कास्की । बेलायत निवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङको गुरुङ भाषाको नयाँ गीत "छले छ्याबा ङए कोईम्ली नासा' सार्वजनिक भएको छ ।
लमजुङको क्होलासोंथर गाउँपालिका ३ घलेगाउँमा शुक्रबार एक कार्यक्रमबीच प्रमुख अतिथि संविधानसभा सदस्य एवं नेकपा एमालेका नेता जमिन्द्रमान घलेले उक्त गीत लोकार्पण गरेका हुन् । गीतमा घलेगाउँ संस्कार, संस्कृति, रहनसहनलगायत विषय समेटेर लेखिएको गीतकार एकेन्द्र गुरुङले बताए ।
यो घलेगाउँको आन्तरिक पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने उनको विश्वास छ ।
घलेगाउँ पर्यटन समिति बोर्डद्वारा दसैं लक्षित सांस्कृतिक कार्यक्रममा विशेष अतिथिको रुपमा क्होलासोंथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, अतिथिको रुपमा गायिका रिया घले र पत्रकार आस गुरुङ सहभागी थिए ।
धनबहादुर गुरुङको संगीत संयोजन रहेको गीतमा स्वर स्वयं धनबहादुर गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ र केशबहादुर गुरुङको रहेको छ । प्रेमबहादुर घले, नवराज घले, आशबीर गुरुङ, गंगा घले, विशाल घले र उमलबहादुर बिक उक्त गीतको निर्माता हुन् । गीतकार गुरुङले गीतको भिडियो छायांकनको क्रममा रहेको बताए ।