पोखरा । गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ कञ्चन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुने भएका छन् ।
तमु धिं नेपालका अध्यक्ष समेत रहेका उनलाई फोनिज गण्डकीको मंगलबारको बैठकले २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पोखरामा रहेर लामो समय पत्रकारितामा क्रियाशील उनले विभिन्न मिडियामा रहेर उल्लेख्य योगदान दिएका छन् । उनी हाल कास्की आवाज दैनिकका प्रधानसम्पादक पनि हुन् ।
यसैबीच, उनीसहित मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई पनि कञ्चन पत्रकारिता पुरस्कार दिइने फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए ।
पुरस्कारको लागि वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।
उनीहरुलाई आगामी साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले बावुआमा वेदमान र नेत्रकुमारी गुभाजुको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका थिए । हरेक वर्ष २ जना पुरस्कृत हुने सो पुरस्कार यसअघि रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, राजेशचन्द्र राजभण्डारी, केबी राना र आश गुरुङले प्राप्त गरिसकेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले बताए ।