लन्डन । बेलायतमा प्रिमियर संघारमा रहेको नेपाली अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को ब्रिटिस मिडियामा चर्चा परिचर्चा गरिएको छ । मलाया युद्धमा नेपालीले प्रदर्शन गरेको वीरताको कथा समेटिएको ऐतिहासिक फिल्म ‘गोर्खा वारियर’ मिलन चाम्स निर्देशित फिल्म हो । चाम्स सर्वोत्कृष्ट निर्देशनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित व्यक्ति हुन् ।
सन् १९४९ मा मलाया युद्ध नेपालीले के कस्तो अवस्थामा लडेका थिए, तिनको परिवार तथा जीवनसमेत फिल्मले समेट्ने प्रयास गरेको विषय चर्चा परिचर्चामा उल्लेख छ ।
फिल्मको चर्चित मिडियाहरु Yahoo News, Reading Chronicle, Live for Films, Movie Reviews 101 and BFBS Films. ले कुनै न कुनै रुपमा फिल्मको प्रचार गरेका छन् । साथै BBBC Radio, HitsFM, Yahoo, Daily Telegraph, BFBS ले पनि फलो अप गर्दैछन् ।
बेलायतको आइम्याक्स सिनेवल्र्डमा १० सेप्टेम्बर (२४ भदौ) को रेड कार्पेट प्रिमियरमा बेलायती प्रधानमन्त्री, राजदूत लगायत विभिन्न उच्च तहका व्यक्तित्वलाई पनि निम्तो दिइएको छ । यतिखेर फिल्म युनिट बेलायतमै छ । फिल्म अनुग्रह ज्वेलर्सका सञ्चालक सफल युवा व्यवसायी सुमन राईद्वारा निर्माण गरिएको हो ।
खासमा मिलन आफैँ पनि पूर्व सैनिक हुन् । उनले युद्ध लड्ने प्राविधिक शैली नै देखाउँदा तथा कतिपय जंगलको युद्ध देखाउँदा कठिनाइ भएको बताउने गरेका छन् । यो फिल्म नेपाली सहिकत हिन्दी र अंग्रेजी भाषामा पनि प्रदर्शन हुनेछ।
फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ ।
विजय लामा सैनिक मेजरको भूमिकामा छन् । नेपाल र मलेशियामा छायांकन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’ को गीत रचना र एलिस कार्कीको संगीत रहेको छ ।
फिल्म हेर्न बेलायतमा बसोबास गर्ने नेपालीहरुले बस नै रिजर्भ गरिसकेको बताइएको छ ।
लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहेका छन् । एकान्टिङ पार्टनर ह्याम्सायर एकाउन्ट्स् हो ।