पोखरा । तमु प्ये ल्हु संघ प्रवास शाखा हङकङका अध्यक्ष मनबहादुर गुरुङलाई पोखराको गोर्खाली रेडियोले स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
तमु प्ये ल्हु संघ हङकङको सातौं अधिवेशनबाट गत २५ जुनमा पुनः तेस्रो पटक उनी अध्यक्षमा निर्चाचित भएका थिए । कास्कीको माछापुच्छ्रे ६, हेम्जाकोट, धिताल जन्म भइ हाल हङकङ निवासी उनी बिदामा पोखरा आएको बखत रेडियोले उक्त सम्मान गरेको हो । १८ वर्ष देखि हङकङमा रहेर समाज सेवा गरिरहेका उनी पूर्व शिक्षक एवं राष्ट्रिय भलिबल रेफ्री समेत हुन् ।
उनले विदेशमा रहेर तमु प्ये ल्हु संघ हङकङ प्रवास शाखाले तमु प्ये ताँ ल्हु ताँ, भाषा, संस्कृति जगेर्ना गरिरहेको बताए । उनले गुरुङहरुको प्ये (शास्त्र) एउटै छ तर छ्या (संस्कार) फरक रहेको बताउँदै यसलाई मध्यनजर गरि एकरूपतामा ल्याउने प्रयास गरिरहेको बताए ।
उनले रेडियोको १३औं स्थापना दिवसमा उपस्थित हुन नसके पनि आफ्नो तर्फबाट १० हजार रुपैयाँ सहयोग गरे । आगामी दिनमा नैतिक र आर्थिक रुपले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
सो अवसरमा हालै सम्पन्न नेवा पत्रकार पुचः अधिवेशनबाट सदस्यमा निर्वाचित रेडियोका प्राविधिक अल्चना श्रेष्ठलाई पनि खादा लगाएर बधाई दिइयो ।
उक्त अवसरमा रेडियोका उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ, सचिव चन्द्रवती गुरुङ, सु. मेजर देउबहादुर गुरुङ, सल्लाहकार क्याप्टेन भूपालसिंह गुरुङ, सदस्यहरु कृष्णकुमारी गुरुङ, अरुणा आले र खिमा गुरुङको उपस्थिति थियो।
गोर्खाली रेडियोको अध्यक्ष सु. मेजर श्रीप्रसाद गुरुङले तमु प्ये ल्हु संघ प्रवास शाखा हङकङका अध्यक्ष मनबहादुर गुरुङलाई नेपालको बसाइँ उपलब्धिमूलक रहोस् भन्दै रेडियोलाई आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गरे । सु. मेजर श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ र संचालन सचिव चन्द्रवती गुरुङले गरेका थिए ।