लन्डन । नेपाली अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियरमा बेलायती प्रधानमन्त्रीलाई निम्तो दिइएको छ । फिल्म निर्माता एवं निर्देशक मिलन चाम्सले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई विशेष निमन्त्रणा कार्ड पठाएका हुन्।
आगामी २४ भदौमा बेलायतकै ‘आईम्याक्स सिनेवल्र्ड’ मा यो चलचित्रको रेड कार्पेट प्रिमियर हुँदैछ । त्यसको तयारीमा चाम्स टिम केही दिनदेखि बेलायतमा छ ।
निर्देशक चाम्सले बिहीबार बेलायतको संसद् भवनमा पुगेर त्यहाँका संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री डेमियन कोलिन्सलाई अतिथिको रुपमा निमन्त्रणा गरेका छन् । निर्देशक चाम्ससहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका लागि पहिलो नेपाली काउन्सलर धन गुरुङ, बेलायतको लागि मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाईराजा थापाले मन्त्री कोलिन्सलाई संसद् भवनमा भेटेका हुन् । उनले मन्त्री कोलिन्समार्फत बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई पनि प्रिमियरको लागि विशेष निमन्त्रणा कार्ड पठाए ।
भेटका क्रममा कोलिन्सलाई सो चलचित्रको बारेमा जानकारी गराउँदै ट्रेलर आफूहरूले ट्रेलर देखाएको पनि निर्देशक चाम्सले बताए । सो ट्रेलर आफुलाई साह्रै मन परेको प्रतिक्रिया निर्देशक चाम्सलाई दिँदै मन्त्री कोलिन्सले सफलताको शुभकामना समेत व्यक्त गरे ।
बेलायतको ब्ल्यान्डफोर्ड, टिडवर्थ, मैडस्टोनका विभिन्न ठाउँमा पुगेर त्यहाँ रहेका अतिथि तथा नेपालीहरुलाई यो प्रिमियरको लागि निमन्त्रण गरिसकिएको छ ।
निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवारका सदस्यहरु, बेलायतका मन्त्री डेमियन कोलिन्ससहित विभिन्न सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु सहभागी हुने भएका छन् ।
यस्तै बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरुलाई पनि आफूहरूले निम्ता गरिसकेको पनि उनले जानकारी गराए । नेपाली चलचित्रकै इतिहासमा सर्वाधिक महँगो स्थान र बजेटमा हुन लागेको यो प्रिमियरलाई एउटा अमिट इतिहास बनाउने तयारीमा आफूहरू दिनरात जुटिरहेको पनि निर्देशक चाम्सले जानकारी गराए ।
‘वार’ जनरामा निर्मित यो चलचित्रमा नव अभिनेता रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा निर्माता मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् ।