पोखरा । अमेरिकामा रहेर गुरुङहरुलाई संगठित गर्दै तमु जातिको मौलिकता संरक्षण, संस्कार, संस्कृतिको सम्वर्द्धन, विकासमा जुटेको र हाल नेपाल आगमनमा रहेका युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष प्रदीप गुरुङलगायतको समूहलाई तमु धिं नेपालमा स्वागत गरिएको छ ।
गुरुङ खेगी(पच्यु) प्रशिक्षणपश्चात् बिहीबार पोखरामा दीक्षित गर्ने कार्यक्रमसहित पोखरामा आएका युजिएसएको समूहलाई तमु धिं नेपाल, तमु(गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश र तमु धिं नेपाल केन्द्रीय आमा समितिले पोखरामा स्वागत सम्मान गरेका हुन् । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रम युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ, उपाध्यक्ष खेगी नरबहादुर गुरुङ, कोषाध्यक्ष कर्णबहादुर गुरुङ, रोधी प्रेसिडेन्ट अगोम गुरुङ, अक्षय कोष दाता खेगी सन्तलाल गुरुङ, प्रवक्ता टेकबहादुर गुरुङ, टेक्निसियन डाइरेक्टर डम्बरकुमार गुरुङ, बोर्ड डाइरेक्टर दिलबहादुर गुरुङ, बैदेशिक सम्बन्ध उपाध्यक्ष खेगी पदमलाल गुरुङ, बोर्ड डाइरेक्टर खेगी भिम गुरुङ, बोर्ड डाइरेक्टर दलबहादुर गुरुङ, टेक्निसियन सुक प्रकास गुरुङ, टेक्निसियन बाबुराम गुरुङ, सल्लाहकार दलबहादुर गुरुङ र बोर्ड डाइरेक्टर रामबहादुर गुरुङलाई टिका, माला, खादा, बुके, फेटा र भाङग्राबाट स्वागत सम्मान गरेको हो ।
संस्थागत भेटघाटसहित आयोजित कार्यक्रममा तमु कलाकार संघ गण्डकी प्रदेशका कलाकारहरु र तमु धिं नेपाल केन्द्रीय आमा समितिका कलाकारहरुले नृत्य प्रस्तुति गर्दै स्वागत गरेका थिए भने तमु कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष तथा तमु धिं नेपाल केन्द्रीय सदस्य सुरेन्द्र गुरुङले संस्थागत परिचयसहित स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङले स्वागत सम्मानका लागि धन्यवाद व्यक्त गर्दै युजिएसएको उद्देश्य, लक्ष्य र गर्दै आएको गतिविधिका बारे जानकारी गराएका थिए । उनले तमु जातिको मौलिकता संरक्षण र विकासका लागि अमेरिकामा रहेर संस्थागतरुपमा जन्मदेखि मृत्यु संस्कार, वार्षिक चाडपर्व मनाउनेलगायत बालबालिका, किशोरकिशोरीलाई लक्षित कार्यक्रम हुँदै खेगी प्रशिक्षण गरेको बताए ।
आगामी दिनमा तमु धिं नेपाल, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश, तमु धिं नेपाल केन्द्रीय आमा समितिलगायत नेपालका तमु संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी अघि बढ्ने बताए । विगत तीन वर्षदेखि खेगी प्रशिक्षण गरी हाल पोखरामा प्रशिक्षार्थी पच्युहरुलाई दिक्षान्त गर्ने कार्यक्रमसहित नेपाल आगमन भएका युजिएसएका अध्यक्ष प्रदीप गुरुङ लगायतको समूहलाई स्वागत सम्मान गर्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले युजिएसएको अभियानको प्रशंसा गर्दै आफूहरु पनि साथै रहेको बताए ।
तमु धिं नेपालको संस्थागत परिचय, उद्देश्यबारे जानकारी गराउँदै तमु धिंले गर्दै आएको गतिविधिका बारेमा चर्चा गर्नुका साथै तमुहरु जहाँ रहे पनि सामूहिकता, सामुदायिकता, मौलिकता र समुदायलाई अग्रगतिमा लैजानका लागि पहल र युजिएसएलगायत सबै तमु संघसंस्थासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा युजिएसएले तमु धिं नेपालमा हालै शुरुवात भएको गुरुङ संग्रहालयमा निर्मित पच्यु, क्ल्हेप्राी र लमको मूर्तिको प्रायोजनको घोषणा गर्दै १ लाख ५० हजार रुपैयाँ र अमेरिकन २ डलर सहयोग हस्तान्तरण गरे । यसरी नै तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिलाई ३० हजार रुपैयाँ र तमु धिं नेपाल केन्द्रीय आमा समितिलाई २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले संचालन गरेकी थिइन् ।