लण्डन । चलचित्र ‘गोर्खा वारियर’ को बेलायतमा प्रिमियर हुने भएको छ । लिस्चे स्क्वायर लन्डनको ‘आइम्याक्स सिनेवल्र्ड’ मा आगामी १० सेप्टेम्बर (२४ भदौ) मा प्रिमियर हुने भएको हो । प्रिमियरमा यूकेको विभिन्न नगरमा बसोबास गर्ने नगरवासीहरुले बस नै रिजर्भ गरेर आउने भएका छन् ।
‘गोर्खा वारियर’ फिल्मको प्रिमियरका लागि खटिएका निर्देशक मिलन चाम्सले यो खवर सुनेपछि निकै खुसी भएका छन् । उनले फेसबुकमा तस्बिरहरु सेयर गर्दै लेखेका छन्, ‘गोर्खा वारियर’ प्रिमियरमा सहभागी हुन यूकेको रिडिङवासीले बस नै रिजर्भ गरी सक्नु भएछ । उहाँहरुलाई नमन भन्न चाहन्छु ।’ त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो ।
आयोजक चाम्स इन्टरटेनमेन्टमा भाग लिन धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, अभिनेता तथा क्याप्टेन विजय लामा पनि सहभागी हुने छन् ।
निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गोर्खा सैनिकका साथै विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैरसरकारी संघसंस्था एवं निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ ।
यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिने कार्यको थालनी भएको पनि निर्देशक चाम्सले जानकारी गराए । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् ।
कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहेका छन् ।
‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’ मा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राई लगायत कलाकारको अभिनय छ ।
फिल्मको एकान्टिङ पार्टनर ह्याम्सायर एकाउन्ट्स् हो ।