लन्डन । ‘गोर्खा वारिअर’ फिल्मको प्रिमियरका लागि निर्माता तथा निर्देशक मिलन चाम्स बेलायत आइपुगेका छन् ।
लन्डनमा १० सेप्टेम्बरमा हुन लागेको उक्त फिल्मको प्रिमियरका लागि निर्देशक चाम्स शुक्रबार राति लन्डनको हिथ्रो विमानस्थल आइपुगेका हुन् । विमानस्थलमा अनुग्रह ज्वेलर्स यूकेका प्रोपाइटरसमेत रहेका उक्त चलचित्र निर्माता सुमन राई, बेलायतका लागि मिडिया कोअर्डिनेटर न्यू होराइजन क्रियसनका आकाश सुनुवार, सन्तोषकुमार सुवेदी, रितेश चाम्स, सूर्य नेम्वाङ, भिम तामाङलगायतले निर्देशक चाम्सलाई स्वागत गरे ।
>सिनेमाको रेडकार्पेट प्रिमियर शो आइम्याक्स सिने वर्ल्ड लेस्टर स्क्वायरमा हुने जनाइएको छ । निर्माता तथा निर्देशक चाम्सले वीर पूर्खाहरुलाई हेर्ने ऐतिहासिक दिन (प्रिमियर) लाई भब्य सफल बनाउन सबैमा अपिल पनि गरेका छन् । प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, विजय लामासहित फिल्मका कलाकारहरु पनि लन्डन आउने चाम्सले बताए ।
युद्धको कथामा बनेको ‘गोर्खा वारिअर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन छ ।