पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका सल्लाहकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत भएका छन् ।
तमुधिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा प्रदान गरिँदै आएको 'कर्म/कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार-२०८०' बाट शुक्रबर नयाँ बजारमा आयोजित कार्यक्रममा पत्रकार श्रेष्ठ पुरस्कृत भएका हुन् । श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले नगद १० हजार रूपैयाँसहित सम्मानपत्र गरे । सम्मानित श्रेष्ठ एभरेस्ट आवाज डटकमक सम्पादक र एभरेस्ट एफएमका प्रस्तोता हुन् ।
तमुधिं नेपालका अध्यक्ष एवं पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा सदस्यहरु एमबी आस्था मगर, शान्ति गुरुङ, उदय अमात्य र नेपाल आदिवासी जनजाति पत्रकर महासंघ (फोनिज) कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङको छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको थियो ।
तमुधिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थापना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ । यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।
फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद तमुको अध्यक्षतामा भएको सोही कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गरिएको थियो ।