पोखरा । गोर्खा मिडिया डटकमका सल्लाहकार पत्रकार दीपेन्द्र श्रेष्ठलाई यस वर्ष ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको छ ।
तमुधिं नेपालका अध्यक्ष एवं गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङको संयोजकत्वको छनोट समितिले पोखराका पत्रकार श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिमा एमबि आस्था मगर, शान्ति गुरूङ, उदयबहादुर अमात्य र दिलप्रसाद गुरुङ थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष श्रेष्ठ एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका सञ्चालक हुन् ।
तमुधिं नेपाल संस्थापक अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठको अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) कास्कीमार्फत सञ्चालन हुँदै आएको छ । पुरस्कारको राशि नगद १० हजार रुपैयाँ, फेटा, भाङ्ग्रा, सम्मानपत्र छ ।
यो पुरस्कार यसअघि रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तीमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीसले पाइसकेका छन् ।
पुरस्कार शुक्रबार पोखराको नयाँबजारस्थित तमुधिं नेपालमा हुने एक समारोहबीच अर्पण गरिनेछ । प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई समेत बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।