लन्डन । बेलायतमा आउँदो ७ अक्टोबरमा 'गंगाराज राई एकल साँझ' हुने भएको छ ।
नेपाली कला साहित्य मञ्च यूकेको आयोजनामा शेन्ट साइमन हल आसफोर्ड केन्टमा उक्त सांगीतिक कार्यक्रम हुने संयोजक डा. अनिल राईले बुधबार २८ जून २०२३ मा प्रेस विज्ञप्तिमार्फत जनाएका हुन् । गायक गंगाराज राई नेपाली गीत, संगीत साधनामा निरन्तर साधनारत रहेको दुई दशक पुगेको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको संयोजक राईले बताए । गंगाराज राई एकल साँझ कार्यक्रम प्रत्यक्ष अर्थात् जीवन्त बाद्यबादकहरुसहित हुनेछ । कार्यक्रमका लागि सगरमाथा गोर्खा नेपाली कम्युनिटी आसफोर्ड र नेपाली कलाकार प्रस्तोता समाज बेलायतसँग सहकार्य गरिने भएको छ ।
गायक गंगाराज राई सन् २०१० यता सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन् । पूर्वी नेपालको माझ किरात भोजपुर जिल्लामा जन्मिएका गायकले वि.सं २०६४ मा, रेडियो नेपालको आधुनिक गीत गायनमा स्वर परीक्षा पास गरेका थिए । वि.सं २०५८ सालमा आफ्नै शब्द र संगीतमा रेकर्डेड 'माया पायौ कि अरुलाई दियौ' बोलको गीत उननको पहिलो रेकर्डेड गीत हो । 'कहाँबाट सुनाऊँ म', 'दिन छैन तिमीलाई नसम्झेको', 'यस्तो एउटा संसार खोज्न', 'हिजो थियौ तिमी मेरी' आदि बोलका गीतहरु गायक राईका चर्चित गीतहरु हुन् । उनका एक सयभन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् ।
एकल साँझमा प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम/किबोर्ड), महेश गुरुङ (तबला), थिर थापा (हार्मोनियम/किबोर्ड), ईन्द्र गुरुङ (बाँसुरी/सेक्सोफोन), रेशम पाचे (ढोलक/मादल), सुरज गुरुङ (लीड गितार), विकल थापा (रिदम गितार), होइशेर तामाङ (बास गितार) र प्रभास गुरुङ (ड्रम) रहनेछन् ।
कार्यक्रममा उपस्थित भइदिएर मनोरञ्जन लिँदै, एकल साँझलाई सबैको साँझमा परिणत गरिदिन आयोजकले अपिल गरेको छ ।