लन्डन । धम्पुस परिवार यूकेको १५ औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा शनिबार फार्नब्रोस्थित सामुयल कोडी स्पोर्ट्स हलमा उक्त वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि ब्रेकन र धम्पुस भगिनी सम्बन्धका अध्यक्ष डेभिड मेरिडिथ थिए । कार्यक्रममा विशेष अतिथिहरुमा ब्रेकन र धम्पुस भगिनी सम्बन्धका टिम (माईकल, हेली, कोलिन र आईरिन), धम्पुसे लामागुरु श्री मनबहादुर गुरुङ, धम्पुस पोखरी धोताने परिवार नेपालका अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ थिए । साथमा बेलायत भ्रमणमा रहेका ८ जना धम्पुसेलगायत बेलायतवासी धम्पुसेहरुको बाक्लो उपस्थिति थियो ।
प्रमुख अतिथि ब्रेकन र धम्पुस भगिनी सम्बन्धका अध्यक्ष डेभिड, सुखवती बौद्ध गुम्बा गाईघाट पोखराका प्रमुख लामा मनबहादुर गुरुङ र समाजका अध्यक्ष कुमार गुरुङले द्वीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजाइएको थियो । समाजका महासचिव गोलमान गुरुङले जन्मथलो धम्पुसको बारेमा कविताबाट सुरु गरी सञ्चालन गरेको औपचारिक कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष धनबहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा धम्पुसे सफल व्यवसायी कमल गुरुङलाई कास्की जिल्ला फुटबल संघ (एन्फा)को ब्रान्ड एम्बास्डर अफ द यूके पदमा मनोनीत भएकामा साथै तमुधिं यूकेका उपाध्यक्षमा चयन भएकोमा बधाई तथा शुभकामना दिइएको थियो । त्यसैगरी धम्पुसे ज्वाइँ हर्कबहादुर गुरुङलाई बीसीसी यूकेका अध्यक्षमा चयन भएकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल र हङकङबाट बेलायत भ्रमणमा आएका सबै धम्पुसेहरुलाई स्वागत सम्मान गरिएको थियो । नवदाम्पत्यमा डा. विवेग गुरुङ र डा. अन्जिला गुरुङ साथै मिता गुरुङ र अजित गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो । साथै सुदीप गुरुङलाई Works for Telstra (world wide Australian company) as a High Priority Network incident manager. individual excellence award winner of year 2021 विजेता भएकोमा बधाई तथा शुभकामना दिइयो ।
त्यसैगरी धम्पुस परिवार यूकेको बुहारी निना (मञ्जु) गुरुङ बेलायतको स्थानीय तहको निर्वाचनमा लेबर पार्टीबाट १२ मे २०२३ मा मिडवेको पहिलो नेपाली महिला मेयरमा निर्वाचित भएको र धम्पुसेको छोरी रीना (रन्जिता) गुरुङ १५ जुन २०२३ मा अमेरिकास्थित New York City Civil Court को Judge of the housing part मा पहिलो नेपाली न्यायाधीश भई इतिहास रच्न सफल भएकोमा उनीहरुको उपस्थिति नभए पनि दुवैको अगाडि बधाई तथा शुभकामना व्यक्त गरिएको धम्पुस परिवार यूकेका महासचिव गोलमान गुरुङले जानकारी दिए । कार्यक्रम पूर्ण सफलताको लागि प्रायोजन गरेका लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ र कुलप्रसाद गुरुङलाई पनि खादाले सम्मान गरिएको थियो ।
बधाई तथा शुभकामना कार्यक्रममा सबैभन्दा सिनियर लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ, संरक्षक गुप्तबहादुर गुरुङ र अध्यक्ष कुमार गुरुङ साथै उनकी श्रीमतीले फूलका गुच्छा र खादाले स्वागत सम्मान गरिएको थियो ।
त्यसैगरी चेलीबेटीहरुले सदाझैं कोसेलीस्वरुप रोटी र रक्सीले माईतीहरुलाई सम्मान गरे । रोटी र रक्सी हङकङबाट बेलायत भ्रमणमा रहेका ज्वाइँ टेकमान गुरुङ र चेली भक्ति गुरुङले प्रायोजन गरेका थिए । कार्यक्रममा चेलीबेटीहरुको तर्फबाट पनि ब्रेकनबाट आएका अथिति, मेजर रिटायर्ड खुशीमान गुरुङ एमभीओ र श्रीमती मञ्जु गुरुङ र बेलायत भ्रमणमा रहेका धम्पुसेहरुलाई स्वागत, सम्मान गरिएको थियो । चेलीबेटीहरुको स्वागत, सम्मान कार्यक्रम चेलीबेटीहरुको कोषाध्यक्ष चेली ललिता गुरुङले संचालन गरेकी थिइन् । जसमा राधा गुरुङले चेलीबेटीहरुलाई ३ सय पाउन्ड पनि हस्तान्तरण गरेकी थिइन् ।
त्यसैगरी चेलीबेटीहरुको तर्फबाट जगना गुरुङले माइतीहरुको लागि मिठो मन्तव्य राखिन् । कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर डेभिड मेरिडिथले समाजले आयोजना गरेको वार्षिक भेटघाट कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुशी लागेको बताउँदै सम्मानित व्यक्तिहरुलाई बधाईसहित शुभकामना दिए । उनले बेलायतमा छरिएर रहेका धम्पुसेहरुलाई नेपाली भिलेज यूके परियोजनामा सहभागिता हुन जोड दिँदै ब्रेकन र धम्पुस बीचको भगिनी सम्बन्ध अझै प्रगाढ हुँदै जाओस् भन्ने शुभकामनाका साथ ब्रेकन घुम्न आउन सबैलाई अनुरोध गरे ।
औपचारिक कार्यक्रमको अन्तमा समाजका अध्यक्ष कुमार गुरुङले सम्मानित व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवाद दिए ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम कुमार गुरुङ र देवेन्द्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । कार्यक्रमलाई थप रोचक र मनोरन्जनात्मक बनाउन नेपालबाट बेलायतमा आएका राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु रमिला न्यौपाने र सागर गुरुङले उत्कृष्ट गीतहरू प्रस्तुत गरेर सबैलाई मन्त्रमूग्ध बनाए । कलाकारहरुको उत्कृष्ट मनमोहक गीतले दर्शक सबैको मन जितेको आभाष हुन्थ्यो ।
निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रमपश्चात प्रस्तुत् गरिएको सांस्कृतिक कार्यक्रमले ब्रेकनका अतिथिलगायत सम्पूर्ण दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा राफल ड्र प्रथम पुरस्कार आधा तोला सुन र अन्य ३ वटा आकर्षक पुरुस्कारहरु रहेको ‘राफल ड्र’ले पनि कार्यक्रममा रौनकता थप्यो । “राफल ड्र“ देवेन्द्र गुरुङले सञ्चालन गरेका थिए भने भाग्यशाली विजेताहरुलाई समाजका अध्यक्ष गुरुङले पुरस्कार वितरण गरे ।
कार्यक्रममा धम्पुसे नानीहरु अवास्था गुरुङ र आर्याना गुरुङले पनि सुन्दर नृत्य देखाएर सबैलाई भरपूर मनोरञ्जन गराइदिएकोमा अध्यक्ष कुमार गुरुङले सम्पूर्ण बेलायतवासी धम्पुसेहरुको तर्फबाट नानीहरु र कलाकारहरुलाई धन्यवाद दिए । कलाकार र नानीहरुलाई सम्झनास्वरुप मायाको चिनो पनि दिइएको थियो ।
कार्यक्रममा खाना व्यवस्थापनमा ओजोन एएम रेस्टुरेन्ट, पेय पदार्थमा तिर्थ पुन, सम गुरुङ र हर्क गुरुङ, साउन्ड सिस्टम व्यवस्थापनमा कमल थापा, फोटोग्राफीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र भिडियोग्राफीमा कोन्मे इन्टरटेडमेन्टका डाइरेक्टर सन्तोष कोन्मे गुरुङले विशेष भूमिका खेलेका थिए । अन्तमा आफूखुशीको नाचपछि कार्यक्रम समापन भएको थियो ।