पोखरा । बेलायतमा गोर्खा प्यालेस रेष्टुरेन्ट चलाउँदै आएका समाजसेवी सूर्य गुरुङले बगर भाइ खलकलाई नगद सहयोग हस्तान्तरण गरेका छन् ।
ग्रासरुट फुटबलमा सहभागी गरिब तथा जेहेनदार फुटबल खेलाडीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले संस्थाले स्थापना गरेको अक्षयकोषमा उनले ५ लाख रुपैयाँ सहयोग गरेका हुन् । सोमबार पोखराको राष्ट्रिय मावि, पुरानो टुँडिखेलमा आयोजित समारोहमा सो रकम हस्तान्तरण गरिएको हो ।
गोर्खा प्यालेसको २४ औं वार्षिकोत्सवमा गरिबीका कारण फुटबल खेल र पढ्न वञ्चित बालबालिकाको लागि आयोजित च्यारिटीमा संकलित उक्त रकम सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । कास्कीको पुरानो घलेल गाउँका गुरुङको घर हाल पोखरा महानगरपालिका वडा १, मिरुवामा छ ।
बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले सहयोगप्रति आभार व्यक्त गर्दै अक्षयकोष रकम बढाउँदै लगिने बताए । समारोहमा प्रतिनिधि सभा सदस्य दामोदर बैरागी, प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङ लगायत उपस्थित थिए ।
सूर्यको संयाेजनमा विभिन्न च्यारिटीमार्फत हालसम्म १० करोड संकलन गरी सहयोग हस्तान्तरण भएकाे छ । गोरखा प्यालेसकाे मात्र हालसम्म १ करोड बढी छ ।
पोखरा रंगशाला निर्माणमा ५० लाख, भूकम्प पीडितको लागि नेपाली राजदूतावासमार्फत ७ करोड, हेल्प नेपाल नेटवर्कमा १ करोड २० लाख सहयोग उपलब्ध गराइसकेको छ । २ दशकयता विभिन्न च्यारिटीमार्फत उनी सहयोगमा सक्रिय छन् ।
तस्बिरः सुदर्शन रञ्जित