लन्डन । नेपाली फिल्म ‘ह्यारी की प्यारी’ को बेलायतमा विशेष शो गरिएको छ ।
बेलायतका दन्त चिकित्सक डा. कपिल रिजालले यही फिल्मबाट फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । गत वर्षको माघ २० देखि हल छिरेको उक्त फिल्म बेलायतमा भने पहिलोपल्ट शनिबार अल्डरसटस्थित प्रिन्सेस हलमा देखाइएको हो । बेलायतमा रहेका चलचित्रकर्मी, व्यवसायी, सर्वसाधारणलगायत दर्शक गरी करिब ४ सय जनाले फिल्म हेरेका हुन् । गायक तथा कलाकार सपनकुमार राईको संयोजनमा विशेष शो भएको हो । उपस्थित दर्शकका कारण आफूलाई निकै उत्साह मिलेको डा. रिजालले प्रतिक्रिया दिए । फिल्म आइतबार वुलवीच ट्राम्सेडमा पनि देखाइएको छ ।
हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्यलक्ष्मी शाहको मुख्य अभिनय रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललाई पनि देख्न सकिन्छ । फिल्ममा अभिनेत्री रेखा थापाको पनि विशेष भूमिका छ । डा. कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । फिल्ममा डा. कपिलका बाबु वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको गीत र रचना छ । संगीत शिखर सन्तोष र युग भुषालले दिएका छन् भने सम्पादन अर्जुन जिसीले गरेका हुन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।
रोमान्टिक–कमेडी जनराको यो फिल्म हेरेपछि दर्शकले विषयवस्तु र प्रस्तुति राम्रो रहेको प्रतिक्रिया दिएका थिए । बेलायतका सफल दन्त व्यवसायी डा. कपिल रिजालले यसअघि पनि कयौं म्यूजिक भिडियो निर्देशन गरेका छन् । फिल्म देखाउनुअघि गायक सपनकुमार राईको म्युजिक भिडियो बल गरेर हुन्न देखाइएको थियो । गीतमा सपनसहित चर्चित मोडल अञ्जली अधिकारीले अभिनय गरेका छन् ।