लन्डन । बेलायतमा ‘छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिता’को तयारी सुरू भएको आयोजक पोखरेली मञ्च यूकेले जनाएको छ ।
नेपाली युवाहरूलाई खेलकुदप्रति आकर्षण बढाउन विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता तयारी सुरू गरिएको मञ्चका अध्यक्ष करम गुरुङले जानकारी दिएका हुन् । उनका अनुसार यही जुन २५ तारिखबाट २ जुलाई २०२३ सम्म रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लब, सोनिङ लेन र आरजिफोर विएसटीमा प्रतियोगिता हुनेछ । यसपटक ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएको छ ।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा हिमालयन क्रिकेट क्लब, नयाँ युवा क्रिकेट क्लब, क्विन्स गोर्खा सिग्न्लस क्रिकेट क्लब, नेप्लिज ओरियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब र रमाइलो क्रिकेट क्लबले भाग लिनेछन् । प्रतियोगितामा उपाधि विजेताले नगद १५ सय पाउन्डका साथमा रनिङ शिल्ड प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद ७ सय पाउन्ड प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । यससँगै प्लेयर अफ दि टुर्नामेन्टले नगद १ सय ५० पाउन्डका साथमा ट्रफी र वेष्ट बलर तथा वेष्ट ब्याट्स्म्यानले जनही नगद १ सय २० पाउन्डका साथमा ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलमा म्यान अफ दि म्याच ट्रफी प्रदान गरिने छ ।
पिपल मोर्गेज मुख्य प्रायोजनमा हुने प्रतियोगिता संयोजकमा मञ्चका उपाध्यक्ष पवित्र गुरुङ रहेका छन् । टिम संयोजकमा विनय पुन, प्रकाश गुरुङ र भिम महेन्द्र गुरुङ छन् । प्रतियोगिता उद्घाटन बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र रेडिङ बोरो काउन्सिलका मेयर टोनी पेजले गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर, काउन्सिलर अमजद तरार, काउन्सिलर धनबहादुर नेपालीलगायत यूकेमा रहेका नेपाली समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछन् ।
यसैगरी पोखरेली मञ्च युकेले हरेक वर्ष आयोजना गर्दै आएको ‘हाइक फर नेपाल’ कार्यक्रमको तयारीसमेत सुरु गरिएको अध्यक्ष गुरुङले जनाए ।