लन्डन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, यूके शाखाले आयोजना गरेको “छैटौं लोकदोहोरी स्वर्णिम साँझ २०२३” सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
बेलायतको फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा गत २० मे २०२३ शनिबारको दिन सभ्य र भव्यको साथमा सम्पन्न भयो । नेपालबाट आएको १५ जना र करिब ८ जना स्थानीय गरेर २३ जना कलाकारहरूको उपस्थिति थियो । दर्शकहरूको बाग्लो उपस्थिति भएको कार्यक्रममा प्रत्यक्ष दोहोरी गाउनको लागि प्रतिष्ठानमा आबद्ध सदस्यहरू यूकेको अन्य सहरहरूलगायत नर्डन आयरल्यान्डबाट पनि जहाजको फ्लाईट लिएर आएका थिए ।
पहिलो चरणमा लाईभ दोहोरी धेरैभन्दा धेरै स्थानीय कलाकारहरूलाई यूकेको विभिन्न संघ संस्थाद्वारा आमन्त्रित नेपालको राष्ट्रिय कलाकारहरूसँग गाउने अवसर दिइएको थियो । दोस्रो चरणमा राष्ट्रिय कलाकारहरूले आफ्नो म्यूजिक ट्रयाकमा प्रस्तुति दिएर स्टेज तताएको थिए । वरिष्ठ गायिका मीरा राणाको प्रमुख आतित्थ्यमा औपचारिक कार्यक्रम प्रतिष्ठान यूकेको वर्तमान अध्यक्ष लक्ष्मण रानालाई सभापतिको आशन ग्रहणमा सुरू भएको थियो ।
कार्यक्रम समुद्घाटनमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, केन्द्रीय उपाध्यक्ष रमेशराज भट्टराई अध्यक्ष तथा प्रमुख अतिथिले एक साथ दिप प्रज्वलन गरेका थिए भने स्टेजमा प्रतिष्ठान केन्द्रीय महासचिव शिव हमाल, सदस्यहरू सम्झना भण्डारी करिश्मा ढकाललगायत अन्य थुप्रै राष्ट्रिय कलाकारहरू, प्रतिष्ठान यूकेको निवर्तमान अध्यक्ष तथा संरक्षक टंक शेरचनलगायत कार्यक्रममा उपस्थित सम्पूर्ण सल्लाहकारहरूलाई बोलाएर बेलुन फुटाइएको थियो । साथै प्रतिष्ठान यूकेको हाल सम्म दिवंगत भएका ३ जना आजीवन सदस्यहरू स्व. हरिमान गुरूङ, स्व. बद्री केसी, स्व. बिरबहादुर गुरूङको सम्झनामा २ मिनट मौनधारण गर्नुको साथै वरिष्ठ गायिका मीरा राणा र संरक्षक टंक शेरचनलाई दोसल्ला ओडाई ताम्रपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
प्रतिष्ठान यूकेको सचिव रत्न शाहीले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम प्रथम उपाध्यक्ष तथा स्वर्णिम साँझ २०२३ को संयोजक मनसुधन थापा र द्वितीय उपाध्यक्ष कल्पना श्रीपालले गरेकी थिइन् ।