म्याग्दी । प्रवास बेगखोलावासीको अगुवाईमा पुनर्निर्माण गरिएको म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन उद्घाटन गरिएको छ ।
विद्यालयमा भवन पुनर्निर्माण समितिद्वारा शुक्रबार आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी र बिमला गौचनले विद्यालय भवन उद्घाटन गरेका हुन् । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुनर्निर्माण अभियानअन्तर्गत विद्यालय भवन निर्माण सम्पन्न गरिएको थियो ।
देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासीहरु बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनर्निर्माण अभियान सुरु गर्दा १ करोड ५० लाख रुपैयाँ सहयोग संकलन भएको भवन पुनर्निर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए । उनका अनुसार विद्यालयको ७ वटा कोठाको भवन पुनर्निर्माण भएको छ ।
'यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताहरुले समेत आर्थिक सहयोग गर्नुभएको छ, कोभिड लगायतका विविध कारणले भवन निर्माण निर्धारित समयमा सम्पन्न हुन सकेन, भवन निर्माण केही समयअघि नै भए पनि प्रवासबाट गृहगाउँ आएर औपचारिक रुपमा भवन हस्तान्तरणमा ढिलाई भएको हो, समग्रमा देश तथा विदेशमा रहेका बेगखोलाबासीको एकता र सहकार्यले जिर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो,' फगामीले भने ।
विद्यालयमा इन्द्रबहादुर पुर्जा, पदमबहादुर पुर्जा र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब १४ लाख रुपैयाँ लगानीमा कम्प्युटर कक्षाका लागि छुट्टै थप कोठा निर्माण गरिदिएका छन् । अभियानमा आर्थिक सहयोग गर्ने दाताहरुको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ ।
विद्यालयमा बेगखोलावासीले चन्दा संकलन गरेर निर्माण गरेको ७ कोठे कक्षाकोठा भवनबाहेक पुनर्निर्माण प्राधिकरणको शिक्षा इकाईमार्फत ३४ लाख लगानीमा ३ कोठे र ६० लाख लगानीमा ४ कोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले जानकारी दिए ।
प्रवासी बेगखोलाबासीको नेतृत्वमा आर्थिक संकलन गरेर र सरकारी तवरबाट समेत गरी कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठन सहज भएको प्रअ गर्बुजाले बताए । यस विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर विषयको पठनपाठन गराउँदै आएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्बुजाले देश तथा विदेशमा रहेक स्थानीयवासीले विद्यालयको भवन पुनर्निर्माण गर्नुले विकासमा सरकार र समुदायको साझेदारीको नयाँ सन्देश दिएको बताए । प्रदेशसभा सदस्यद्वय भण्डारी र गौचनले भौतिक पूर्वाधार शैक्षिक विकासको महत्वपूर्ण पाटो रहेको भन्दै भवनको उचित प्रयोगसँगै विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजनामा आवश्यक पहल गर्ने आश्वासन दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र थापा, नेपाली कांग्रेसका नेता चिरञ्जीवी शर्मा, वडा अध्यक्ष बिलबहादुर फगामीसहित विभिन्न देशमा रहेका बेगखोला कल्याणकारी समाजको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिहरुले विद्यालयको विगत र वर्तमानको चर्चा गरेका थिए ।
कार्यक्रममा बेगखोला (इतिहासः हिजो र आज) नामक पुस्तकसमेत लोकार्पण गरिएको थियो भने विविध सांस्कृतिक र सांगीतिक प्रस्तुतिसमेत देखाइएको थियो ।
विद्यालय भवन पुननिर्माण समितिका संयोजक फगामीको अध्यक्षता, प्रअ गर्बुजाको स्वागत र नगेन्द्र पुर्जा तथा खिम फगामीको सञ्चालनमा सम्पन्न भएको थियो । रोजगारी, पेशा, ब्यवसाय र अध्ययनका लागि विदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका बेगखोलाबासीहरुले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएका छन् ।