लन्डन । कास्की पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ बेलायत आइपुगेकी छन् ।
क्वोनें (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणमा उपमेयर गुरुङ मंगलबार हिथ्रो विमानस्थल ओर्लिएकी हुन् । उनलाई क्वोनें (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके, तमुधिं यूके, तमु समाज यूके र चेलीबेटीहरुले स्वागत गरेका थिए । गुरुङलाई अध्यक्ष क्या पिताम्बर गुरुङ, महासचिव इन्द्र घोताने गुरुङ, चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ, लीना गुरुङले खादासहित स्वागत गरेकी थिइन् । उनलाई स्वागत गर्न तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ, तमु समाज यूकेका उपाध्यक्ष भीम गुरुङ, क्वोनें (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, संरक्षक क्या जीवन गुरुङ, क्या नारायण गुरुङ एमभीओलगायत विमानस्थल पुगेका थिए ।
६ वर्षको अन्तरालपछि बेलायत आएकी उपमेयर गुरुङले भनिन्, 'धन्यवाद सबै जनालाई यहाँ बोलाउनुभयो । स्वागत गर्न आउनुभयो । हार्दिक आभार व्यक्त गर्दछु ।' उपमेयर गुरुङसँग २३ अप्रिल २०२३ मा अन्तरिक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरिएको क्वोनें (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्या पिताम्बर गुरुङले जानकारी दिएका छन् । कार्यक्रम तमुधिं यूके भवन मिचेटमा मध्याह्न १२ देखि ५ बजेसम्म हुनेछ । उनका अनुसार उपमेयर गुरुङले लन्डनका वर्तमान र पूर्वमेयरसँग भेटघाट, बेलायतको संसद् भ्रमण गर्नेछिन् । मेयरहरुसँग भेटघाटको मेलोमेसो काउन्सिलर लक्ष्यबहादुर गुरुङले मिलाएका छन् ।
उपमेयरलाई स्वागत, सम्मानका लागि मे १ तारिखमा तमुधिं यूकेले कार्यक्रम राखिएको छ । उपमेयर गुरुङ मे ७ तारिखमा नेपाल फर्कने कार्यक्रम छ । गुरुङ २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी हुन् ।