पोखरा । भ्वाइस अफ नेपाल सिजन ४ का टप टेन फाइनलिस्ट गायक आशिष रायमाझीको स्वर, शब्द र संगीतमा तयार भएको ‘दशैँ र तिहार’ गीत सार्वजनिक भएको छ । नेपालीका महान् चाड दशैँ र तिहारको रौनक, गाउँघरको सम्झना, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई समेटेर गीतको म्युजिक भिडियो निर्माण गरिएको हो ।
गीतले दशैँतिहारमा घर फर्किने उत्साह, गाउँघरमा पिङ खेल्ने, चङ्गा उडाउने र आफन्त तथा साथीभाइसँग भेला भएर रमाइलो गर्ने नेपाली परम्परालाई चित्रण गरेको छ । चाडपर्वका पुराना सम्झना र पारिवारिक सम्बन्धको महत्त्वलाई प्रस्तुत गरिएको गीतले दर्शक तथा श्रोतामाझ चाडपर्वको आत्मीयता र उल्लासलाई स्मरण गराउने अपेक्षा गरिएको छ ।
गीतको संगीत संयोजन, गितार तथा मिक्सिङको काम पनि आशिष रायमाझीले नै गरेका छन् । गीतमा पोषणराज जीएमको मादल, रत्न बीकेको बाँसुरी र हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन रहेको छ। गीतको रेकर्डिङ तथा निर्माण एआर स्टुडियोमा गरिएको हो ।
विजय डोङको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आशिष रायमाझी र अमृत कँडेलले अभिनय गरेका छन् । अनिश तिमल्सिनाले छायांकन गरेको भिडियोको सम्पादन तथा रङ संयोजन विजय दोङले गरेका छन् । भिडियोमा मण्डिरा डोङको मेकअप, रवि गुभाजुको गाफर तथा बिउर्न स्टुडियो नेपालको पोस्ट प्रोडक्सन रहेको छ। निर्माण व्यवस्थापनको जिम्मेवारी निमा तामाङले सम्हालेका छन् ।
दशैँ र तिहारका सांस्कृतिक गतिविधि, गाउँघरको परिवेश र परिवारसँगको मिलनलाई संगीतमार्फत प्रस्तुत गरिएको गीतले नेपाली चाडपर्वको मौलिकता र सम्झनालाई उजागर गरेको छ ।