लन्डन । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा ९ अक्टोबरमा हुने तय भएको ‘सुम्निमा सांगीतिक साँझ २०२६’ स्थगित गरिएको छ ।
कार्यक्रमकी प्रमुख तथा चर्चित गायिका मेलिना राई र जुनु राईका पिता एवं गायक तथा संगीतकार जिबेस राईको निधनका कारण कार्यक्रम केही समयका लागि स्थगन गरिएको आयोजकले जनाएको छ ।
सुम्निमा इभेन्ट्स, लुंग्टो क्रिएसन र इनास यूकेको संयुक्त आयोजनामा भोटेकोशी बाढीपीडित सहयोगार्थ; उक्त साङ्गीतिक कार्यक्रम हुन गइरहेको थियो।
कार्यक्रममा मेलिना राईसहित प्रताप दास, सुशील नेपाल, सबिना योङहाङ लिम्बू, रोशन राई, अप्सरा घिमिरे, जानुका राई र पार्वती राईलगायत कलाकारको प्रस्तुति रहने तय गरिएको थियो ।
आयोजक समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा गायिका मेलिना राई तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । पारिवारिक शोक र भावनाको उच्च सम्मान गर्दै प्रमुख कलाकारकै उपस्थितिबिना कार्यक्रम गर्न नसकिने निष्कर्ष निकाल्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।
कार्यक्रमको मुख्य आकर्षण नै मेलिना राई रहेका कारण उनीलगायत सम्पूर्ण कलाकारको सहभागितामा आगामी दिनमा यसलाई अझ भव्य र आत्मीय रूपमा पुनः आयोजना गरिने आयोजकले प्रतिबद्धता जनाएको छ । कार्यक्रमको नयाँ मिति, समय र स्थान यथाशीघ्र सार्वजनिक गरिनेछ ।
अत्यधिक दर्शकको सहभागितामा आयोजना हुन तय भएको कार्यक्रम अचानक स्थगित हुन पुग्दा दर्शक, प्रायोजक, सहकार्यकर्ता र शुभेच्छुकमा पर्न गएको असुविधाप्रति आयोजक टिमले माफी मागेको छ । साथै, यस कठिन परिस्थितिमा सबैतर्फबाट प्राप्त माया, साथ र धैर्यताका लागि हार्दिक आभार प्रकट गरिएको छ ।
यूकेमा लामो समयपछि आयोजना हुन लागेको ठूलो स्केलको सांगीतिक कार्यक्रम शोकका कारण स्थगन भएकाले अर्को मितिमा सोही कार्यक्रम आयोजना गरेर दर्शकको सांगितिक भोक मेटाउन आयोजक कटिबद्ध रहेको जनाइएको छ ।
-भुमिराज राई