तुर्किए । तुर्किएमा रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ तुर्किए (NRNA Türkiye) कानुनी रूपमा विधिवत् दर्ता भएको छ । इस्तानबुलमा केन्द्रीय कार्यालय रहने गरी दर्ता प्रक्रिया सम्पन्न भएपछि तुर्किएस्थित नेपाली समुदायमा उत्साह थपिएको छ ।
संस्थापक अध्यक्ष विनोद पौडेलका अनुसार संस्थाको दर्तासँगै तुर्किएमा रहेका नेपालीहरूको संस्थागत प्रतिनिधित्वका लागि बलियो कानुनी आधार तयार भएको छ । यसमार्फत नेपाली समुदायका साझा हित, सूचना प्रवाह, आपत्कालीन सहयोग, श्रम तथा कानुनी सचेतना, सांस्कृतिक संरक्षण र सामाजिक एकताका क्षेत्रमा व्यवस्थित रूपमा काम गर्न सकिने विश्वास लिइएको छ ।
तुर्किएमा हालसम्म नेपालको स्थायी राजदूतावास वा महावाणिज्य दूतावास स्थापना नभएको सन्दर्भमा संस्थाले नेपाल सरकारसमक्ष राजदूतावास तथा आवश्यक कूटनीतिक संरचना स्थापना गर्न पहल र दबाब सिर्जना गर्ने नीतिसमेत अघि सारेको छ । अध्यक्ष पौडेलले तुर्किएमा नेपालीहरूको संख्या बढ्दै गइरहेका कारण दूतावास स्थापनाले सेवा प्रवाह, श्रमिक संरक्षण तथा नेपाल–टर्की सम्बन्धलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
इस्तानबुल तुर्किएको सबैभन्दा ठूलो महानगर तथा नेपालीहरूको प्रमुख बसोबास क्षेत्र भएकाले सेवाप्रवाह र समन्वयलाई प्रभावकारी बनाउन केन्द्रीय कार्यालय त्यहीँ स्थापना गरिएको जनाइएको छ ।
संस्थाले आगामी दिनमा सदस्यता विस्तार, टर्कीभर रहेका नेपालीहरूलाई एउटै सञ्जालमा आबद्ध गर्ने, श्रमिक, विद्यार्थी तथा व्यवसायीका साझा मुद्दामा काम गर्ने, नेपाली भाषा, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने, आपत्कालीन सहयोग संयन्त्र विकास गर्ने तथा नेपाल–तुर्किए सम्बन्ध सुदृढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।
त्यसैगरी, तुर्किएका विभिन्न सहरमा रहेका नेपालीहरूलाई संस्थासँग जोड्न सम्पर्क प्रतिनिधि तथा स्थानीय समन्वय संयन्त्र विस्तार गरिने, नियमित भेटघाट, अनलाइन बैठक तथा सामाजिक सञ्जालमार्फत सक्रिय सहभागिता सुनिश्चित गरिने बताइएको छ ।
संस्थाको उपाध्यक्ष श्यामकला राई, मन्दिरा खत्री र डोरबहादुर खड्का, महासचिव मोहम्मद जावेद अन्सारी, सचिव श्याम पाण्डे तथा कोषाध्यक्ष भीम अर्याल रहेका छन् । केही महिनाको तयारी, आवश्यक कागजात संकलन तथा सम्बन्धित निकायसँगको समन्वयपछि दर्ता प्रक्रिया सम्पन्न भएको हो ।
यसले नेपालीहरूलाई कानुनी रूपमा संगठित हुने आधार प्रदान गर्नुका साथै समुदायका साझा हित, सहयोग र नेपाल–तुर्किए सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष पौडेलले बताए ।