उत्तरकाशी (भारत) । बेलायतबाट चारधाम तीर्थयात्रामा निस्किएको ३२ सदस्यीय नेपाली तीर्थयात्रीहरूको टोलीले बुधबार उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित पवित्र गंगोत्री धाममा पुगेर दर्शन तथा पूजा आराधना सम्पन्न गरेको छ।
तीर्थयात्रा टोलीको संयोजन शुष्मा गुरुङ र सहसंयोजन शर्मिला गुरुङले गरेको हो भने यात्राको मार्गदर्शन टुर गाइड सुमान्सु साइनीले गरिरहेका थिए। टोली उत्तरकाशीस्थित होटल प्रोस्पेरेटीमा बसेका थिए।
होटलबाट करिब १०० किलोमिटरको दुरीमा रहेको गंगोत्री धाम पुग्न टोली बिहान केवल चिया पिएर नै प्रस्थान गरेको थियो। कठिन हिमाली सडक हुँदै यात्रा पूरा गरी तीर्थयात्रीहरूले गंगोत्री मन्दिरमा विशेष पूजाअर्चना, दर्शन, पवित्र भागीरथी (गंगा) नदीमा तर्पण तथा दानदक्षिणा अर्पण गरेका थिए। धार्मिक कार्यक्रम सम्पन्न गरी टोली राति करिब १० बजे होटल फर्किएको थियो।

समुद्री सतहबाट करिब ३,१०० मिटरको उचाइमा अवस्थित गंगोत्री हिन्दू धर्मावलम्बीहरूको अत्यन्त पवित्र तीर्थस्थलमध्ये एक हो। यही स्थानबाट बग्ने भागीरथी नदीलाई गंगा नदीको उद्गम मानिन्छ। धार्मिक मान्यताअनुसार राजा भगीरथको कठोर तपस्यापछि स्वर्गबाट पृथ्वीमा अवतरित भएकी गंगा देवीको स्मृतिमा गंगोत्री धामको विशेष महत्व रहेको विश्वास गरिन्छ।
हिमालयको काखमा रहेको गंगोत्री क्षेत्र प्राकृतिक रूपमा अत्यन्त रमणीय भए पनि भौगोलिक दृष्टिले चुनौतीपूर्ण छ। साँघुरा घुमाउरा सडक, भीरपहाड, उकालो ओरालो तथा मौसमको निरन्तर परिवर्तनका कारण यहाँको यात्रा कठिन मानिन्छ। यद्यपि धार्मिक आस्था र आध्यात्मिक विश्वासका कारण हरेक वर्ष नेपालसहित विश्वका विभिन्न देशबाट हजारौँ श्रद्धालु गंगोत्री दर्शनका लागि पुग्ने गर्छन्।

बेलायतबाट आएको नेपाली तीर्थयात्री टोलीले गंगोत्री दर्शनसँगै चारधाम यात्रालाई आध्यात्मिक अनुभूति, धार्मिक आस्था र सांस्कृतिक एकताको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। टोलीले आगामी दिनमा चारधाम अन्तर्गतका अन्य पवित्र धामहरूको पनि दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।