उत्तरकाशी, भारत । बेलायतबाट चारधाम तीर्थयात्रामा आएको नेपाली तीर्थयात्रीहरूको टोली मंगलबार (जुन ३०) उत्तरकाशी पुगेको छ । बारकोटस्थित यमुनोत्री हेली रिसोर्टमा बिहानको नास्तापछि होटलका कर्मचारीहरूसँग आत्मीय बिदाइ गर्दै टोली बसमार्फत करिब १०० किलोमिटरभन्दा बढी यात्रा तय गरी उत्तरकाशी पुगेको हो ।
दिनभरको यात्रामा भक्तिभावले भरिएका भजन, अन्ताक्षरी तथा मनोरञ्जनात्मक कार्यक्रमले यात्रालाई अझ स्मरणीय बनाएको थियो । साँझ उत्तरकाशीस्थित होटलमा पुगेपछि टोलीले विश्राम गरेको थियो ।
यात्राका क्रममा टोलीले गंगनानी कुण्ड, रेडीटोपस्थित श्री बाबाबौख नाग मन्दिर तथा काशी विश्वनाथ मन्दिरको दर्शन गरेको थियो ।
उत्तराखण्डको बारकोट नजिक यमुना नदी किनारमा अवस्थित गंगनानी कुण्ड प्राकृतिक पानीको प्रसिद्ध मुहान हो । धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त पवित्र मानिने यस कुण्डको पानीमा उपचारात्मक गुण रहेको जनविश्वास छ ।
यही विश्वासका कारण यहाँ वर्षभरि भक्तजन तथा पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहने गर्दछ । बेलायती टोलीले करिब एक घण्टा उक्त क्षेत्रमा बिताएको थियो । भ्रमणका क्रममा टोलीका सदस्यहरूले महिला नागिनी र सानो नाग प्रत्यक्ष देख्ने दुर्लभ अवसरसमेत प्राप्त गरेका थिए ।

त्यसपछि टोलीले हिन्दू धर्मका १२ ज्योतिर्लिङ्गहरूमध्ये अत्यन्त महत्त्वपूर्ण मानिने काशी विश्वनाथ मन्दिरमा दर्शन गरेको थियो । धार्मिक विश्वासअनुसार भगवान् शिवको स्थायी वासस्थल मानिने यस मन्दिरमा टोली पुग्दा साँझको आरती सुरु हुन केही समय बाँकी थियो ।
धैर्यपूर्वक प्रतीक्षा गरेका सबै सदस्यले आरतीमा सहभागी हुने सौभाग्य प्राप्त गरेका थिए । यात्राका क्रममा दार्सु बारकोट यमुनोत्री सडकखण्डको रमणीय डाँडामा केही समय विश्राम गर्दै टोलीले तस्बिर तथा भिडियोसमेत खिचेको थियो ।
टोलीका संयोजक सुष्मा गुरुङले आगामी दिनको यात्रालाई लक्षित गर्दै सहभागीहरूलाई स्वास्थ्यसम्बन्धी आवश्यक सुझाव दिएकी छन् । उनका अनुसार उच्च हिमाली क्षेत्रमा शरीरलाई सहज रूपमा अभ्यस्त बनाउन Diamox 250 mg औषधि सेवन गर्न सिफारिस गरिएको छ । उक्त औषधि सेवन गर्दा केही व्यक्तिलाई वाकवाकी लाग्ने वा औँलामा झमझमाहट महसुस हुन सक्ने भए पनि यो सामान्य प्रक्रिया भएको उनले जानकारी दिइन् ।
उनले नियमित औषधि सेवन गरिरहेका वा कुनै स्वास्थ्य समस्या भएका सहभागीलाई आफूलाई जानकारी गराउन आग्रह गर्दै आवश्यक परे बेलायतका फार्मासिस्ट वा जीपी (General Practitioner) सँग परामर्श गर्ने बताएकी छन् ।

बुधबारको कार्यक्रमअनुसार टोली बिहान ६ बजे उत्तरकाशीबाट गंगोत्रीतर्फ प्रस्थान गर्नेछ । करिब १०० किलोमिटर दूरी भए पनि पहाडी सडकका कारण यात्रा करिब पाँच घण्टाको हुनेछ ।
समुद्री सतहबाट करिब ३,१०० मिटर (१०,२०० फिट) उचाइमा अवस्थित गंगोत्रीमा दर्शनपछि टोलीले त्यहीँ मध्याह्न भोजन गर्नेछ र साँझ पुनः उत्तरकाशीस्थित होटलमा फर्किने कार्यक्रम रहेको छ ।