हङकङ । तमु समाज यूकेको निवर्तमान अध्यक्ष शिवकुमार गुरुङलाई हङकङमा सम्मान गरिएको छ। निजी भ्रमणको सिलसिलामा पत्नी मीना गुरुङसहित हङकङ पुगेका उनलाई ‘आर्थर डाँडाखर्क सहयोग समिति हङकङ’ र ‘चेलीबेटी समूह’ ले संयुक्त रूपमा स्वागत तथा सम्मान गरेका हुन्। २६ जुन २०२६, शुक्रबारका दिन जोर्डनस्थित ‘ल्वु ओशन रेष्टुरेन्ट एण्ड बार’ मा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरिएको हो।
समितिका अध्यक्ष प्रविण गुरुङको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव तेजबहादुर लामा गुरुङले गरेका थिए । उक्त कार्यक्रमले आफ्नो हङकङ भ्रमणलाई अविस्मरणीय बनाएको शिवकुमार गुरुङले बताए। श्री पञ्चकोशी आर्थर डाँडाखर्क समाज युकेको पूर्व कोषाध्यक्ष एवं आर्थर डाँडाखर्कको बासिन्दाको नाताले हङकङमा रहेका गाउँले दाजुभाइ तथा दिदीबहिनीहरूसँग साक्षात्कार गर्न पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको उनले उल्लेख गरे। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारी तथा चेलीबेटी समूहका प्रतिनिधिहरूले गुरुङ दम्पतीलाई पुष्पगुच्छा, खादा र मायाको चिनो प्रदान गर्दै न्यानो स्वागत गरेका थिए। यहाँहरूको यो आत्मीयता र स्नेह आफ्नो स्मृतिमा सदैव ताजा रहने उनले बताए।
आफ्नो निजी भ्रमणलाई सफल र सहज बनाउन भौतिक उपस्थिति तथा यातायात व्यवस्थापनमा विशेष सहयोग पुर्याउने सहयोगीहरूप्रति पनि उनले आभार प्रकट गरे। विशेष गरी मित्र इन्द्र गुरुङ, मामा श्याम गुरुङ, आजि सुकमाया गुरुङ, बहिनी रोस गुरुङ तथा तमु समाज हङकङका संस्थापक अध्यक्ष एवं समाजसेवी कमल गुरुङ (स्याङ्जाली कान्छा) को योगदानलाई उनले उच्च सम्मान गरेका छन्। उनीहरूको साथ र सहयोग बिना यो भ्रमण फलदायी हुन सम्भव नरहेको उनले बताए।
व्यस्तताका बाबजुद कार्यक्रममा उपस्थित भएका सम्पूर्ण हङकङवासी गाउँले तथा आफन्तजनहरूप्रति उनले हार्दिक धन्यवाद ज्ञापन गरे । साथै, विविध कारणवश उपस्थित हुन नसकेका महानुभावहरूप्रति पनि उत्तिकै सम्मान व्यक्त गर्दै हङकङबासीको यो स्नेह र माया सदैव रहिरहने विश्वास उनले व्यक्त गरेका छन् ।


