बेलायत । गैरआवासीय नेपाली संघ (NRNA) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) बैठकले संस्थागत सुदृढीकरण र आगामी कार्यक्रमका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। अध्यक्ष डा. हेम राज शर्माको अध्यक्षतामा १३ र १४ जुन २०२६ मा भर्चुअल माध्यमबाट सम्पन्न बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ करोड ३७ लाख ६३ हजार ६६८ रूपैयाँ (NPR 53,763,668) बराबरको बजेट पारित गरेको प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए। बैठकको इतिहासमै पहिलो पटक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण (Live) समेत गरिएको थियो।
बैठकले विभिन्न देशमा आयोजना हुने क्षेत्रीय सम्मेलनहरूको मिति र स्थान तय गरेको छ। जसअनुसार आगामी १०–११ अगस्टमा आयरल्यान्डको डब्लिनमा १७औँ युरोप क्षेत्रीय बैठक (संकल्प) र १५–१६ अगस्टमा चीनको ग्वाङ्झाउमा ११औँ एसिया–प्रशान्त क्षेत्रीय बैठक (आरोहण) आयोजना गरिने भएको छ। यस्तै, आगामी नोभेम्बरमा मध्यपूर्व, डिसेम्बरमा न्युजिल्यान्डमा ओसियाना र २०२७ को मार्च–अप्रिलमा क्यानडामा अमेरिकाज क्षेत्रीय सम्मेलन (Americas Regional Conference) गर्ने योजना स्वीकृत भएको छ। संघले सन् २०२७ को जनवरीभित्र चौथो विश्व ज्ञान सम्मेलन, पहिलो महिला सम्मेलन र दोस्रो पुस्ताको युवा सम्मेलन समेत आयोजना गर्ने तयारी गरेको छ।
सांगठनिक एकताको सन्दर्भमा बैठकले नेदरल्याण्ड्स, डेनमार्क, कतार, फ्रान्स, बेल्जियम, माल्टा, मलेसिया र थाइल्याण्डमा रहेका दुई समूहका राष्ट्रिय समन्वय परिषद् (NCC) हरूको एकीकरणलाई अनुमोदन गरेको छ। यसैगरी अस्ट्रिया, पोर्चुगल, अमेरिका, युएई, कुवेत र दक्षिण कोरियाका NCC हरूलाई आगामी ३१ जुलाई सम्ममा एकता महाधिवेशन (Unity General Convention) सम्पन्न गर्न निर्देशन दिइएको छ। यस प्रक्रियालाई सहजीकरण गर्न उपाध्यक्ष रोशन थापा र विभिन्न उपमहासचिवहरूलाई जिम्मेवारी तोकिएको छ। रोमानिया, बुल्गेरिया र फिनल्याण्ड जस्ता देशमा NCC लाई पुनः सक्रिय बनाउने तथा क्रोएसिया र भियतनाम लगायतका देशमा नयाँ शाखा स्थापना गर्ने अधिकार सम्बन्धित पदाधिकारीहरूलाई दिइएको छ।
आर्थिक र प्रशासनिक सुधारका लागि बैठकले काठमाडौंमा सम्पन्न १२औं विश्व सम्मेलनको आय–व्यय अनुमोदन गर्नुका साथै पदाधिकारीहरूको लेभी बुझाउन दुई हप्ताको समय थप गरेको छ। तोकिएको समयमा शुल्क नबुझाउने सदस्यहरूलाई आधिकारिक वेबसाइटबाट हटाउने निर्णय समेत भएको छ। सचिवालयको क्षमता वृद्धिका लागि २ जना IT Officers नियुक्त गर्ने र भवनको मर्मतसम्भार गर्ने प्रस्ताव पनि पारित गरिएको छ। रिक्त रहेका पदहरूमा नियुक्तिका लागि मापदण्ड तय गर्दै ७० प्रतिशत स्थानमा महिला, युवा र विज्ञहरूलाई समेट्ने नीति लिइएको छ।
संघको संरक्षक (Patrons) परिषद्मा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्षहरू डा. बद्री केसी र महेश श्रेष्ठ तथा संस्थापक महासचिव भीम उदासलाई मनोनयन गरिएको छ। सल्लाहकार समितिमा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेविड गेल्नरसहित अन्य विज्ञहरूलाई चयन गरिएको छ। विधान व्याख्या समितिको संयोजकमा हिक्मत थापा र अनुशासन समितिमा रतन झा नियुक्त भएका छन्। बाँकी रिक्त पदहरूमा नियुक्ति गर्न महासचिवसँगको परामर्शमा अध्यक्षलाई जिम्मेवारी दिइएको छ।
निर्वाचन प्रणालीलाई थप सुदृढ बनाउन ७ सदस्यीय प्राविधिक समिति (Technical Committee) गठन गरिएको छ, जसले ४५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ। यस्तै, NRNA Foundation लाई नेदरल्याण्ड्समा दर्ता गरी अन्तर्राष्ट्रिय रूपमा सक्रिय बनाउने जिम्मेवारी फणिन्द्र पन्त र शशी पौडेललाई दिइएको छ। फाउन्डेसनमा संघको तर्फबाट डा. हेम राज शर्मा, रामशरण सिम्खडा र कृष्ण तिमल्सिनाले प्रतिनिधित्व गर्नेछन्। बैठकले रेडक्रस, चेम्बर अफ कमर्स र ललितपुर उद्योग वाणिज्य संघ जस्ता संस्थाहरूसँग भएका सम्झौताहरूलाई समेत अनुमोदन गरेको छ।